
विराटनगर – औषधि उपचारमा लागेको रकम तिर्न नसक्दा विराटनगरको नोबेल शिक्षण अस्पतालमा रहेको एक बृद्धाको शव पाँच दिनदेखि आफन्तले लैजान सकेका छैनन्।
झापा मेचीनगर निवासी ६५ वर्षीया चन्द्रमाया मगरको उपचारका क्रममा लागेको ६ लाख ३३ हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालले मगरका परिवारलाई शव नदिएको हो।
आर्थिक अवस्था कमजोर भएका मगर परिवारलाई अस्पतालले उपचारका क्रममा लागेको रकम नतिरी शव नदिने जनाएपछि परिवार थप पीडामा परेको छ। मृतक चन्द्रमायाका दाजु डम्बरबहादुर मगरले भने, ‘शवका लागि हामीले अस्पतालसँग हार गुहार गर्यौं, तर अस्पतालले नमानेपछि, शव छोडेर निस्कनु पर्ने बाध्यता आइपर्यो।’
उच्च रक्तचापका कारण लडेपछि गत कात्तिक ३० गते नोबेलमा भर्ना गरिएकी चन्द्रमायाको मंसिर १ गते टाउकोको शल्यक्रिया गरिएको थियो। डम्बरका अनुसार नशामा रगत जमेको जनाउँदै चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएका थिए।
शल्यक्रियापछि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा गत बुधबार राति चन्द्रमायाको मृत्यु भएको डम्बरबहादुर मगरले बताए।
विक्षिप्त अवस्थामा भेटिएका डम्बरबहादुरले भने, ‘न बहिनीलाई जोगाउन सकियो, न त मृत्युपछि शव नै, अस्पतालसँग गएको पाँच दिनदेखि शवका लागि कुरा राख्यौं, तर रकम नबुझाउञ्जेल शव नदिने अडानमा अस्पताल रहेको छ।’
पीडित मगर परिवारले उपचारका क्रममा अस्पतालमा सुरुमा डेढ लाख रुपैयाँ बुझाएको जनाएको छ। तर, बिरामीको मृत्यु भएपछि ६ लाख ३३ हजार रुपैयाँ तिर्न बाँकी रहेको अस्पतालले जनाएपछि आफूहरु छाँगाबाट खसेझैँ भएको डम्बरबहादुरले बताए। उनका अनुसार औषधिको ५ लाख २१ हजार र उपचारको १ लाख १२ हजार रुपैयाँ तिर्न बाँकी रहेको अस्पतालको दावी छ।
ज्याला मजदुरी गर्दै आएकी मृतक चन्द्रमायाको आर्थिक अवस्था कमजोर छ। दुई छोरीको विवाह भइसकेको छ। दुई छोरामध्ये जेठा छविलाल वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। कान्छा मोहन सिटीसफारी कुदाउँछन्।
चन्द्रमायाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको दावी गर्दै आफन्त र छिमेकीले नोबेल मेडिकल कलेजमा तोडफोड समेत गरेका थिए। तोडफोडबाट प्रशासकीय अधिकृत नारायण दाहालको कार्यकक्ष र अस्पतालको काउण्टरमा क्षति पुगेको थियो।
प्रशासकीय अधिकृत दाहालले उपचार खर्च मिनाहा गर्न अस्पताललाई कुनै गाह्रो नभएको जानकारी दिए। तर, औषधिमा लागेको रकमबारे आफूहरु स्पष्ट नभएको उनले बताएका छन्।