
विराटनगर- विराटनगर ट्राफिकचौक मेनरोडस्थित एक रेडिमेड कपडा पसलमा बुधबार बिहानै आगलागी भएको छ।
रामनिवास अग्रवालको एकतले घरमा अवस्थित ट्याग फेसन वेयरमा आगलागी भएको वडा प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
आगलागी बिहान करिब ५ बजे विद्युट सर्टसर्किट भएर लागेको हुनसक्ने वडा प्रहरी कार्यालय प्रमुख सुरेन्द्र सिटौलाले बताए।
सिटौलाका अनुसार विराटनगर ६ निवासी प्रसन्न वैद्यको पसलमा लागेको आगलागीमा ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ।
करिब ४० लाख रुपैयाँकाे क्षति भएको घटनामा धुवाँ र खरानीका अन्य कपडा पनि प्रयोग गर्न नसकिने अवस्थामा रहेको उनले जनाए।
प्रहरी कार्यालय नजिकै भएका कारण आगलागी हुनासाथ पसलको सटर तोडेर आगलागी नियन्त्रणमा लिने कार्य गरिएको थियो। यद्यपि आगो निभाउन विराटनगर वारुणयन्त्रको सहायता लिनु परेको प्रहरी कार्यालयले जनाएको छ।
हाल आगलागी नियन्त्रणमा आइसकेको र पूर्ण क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।