
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य राम्रो रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका डाक्टरले बताएका छन्।
गएको शुक्रबार भएको ज्ञानात्मक तथा स्वास्थ्य परीक्षणबाट राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य तथा ज्ञानात्मक अवस्था राम्रो देखिएको डा. रुनी ज्याक्सनले बताए।
ह्वाइटहाउसमा भएको ब्रिफिङको क्रममा डा. ज्याक्सनले गएको हप्ता तीन घण्टा लगाएर गरिएको स्वास्थ्य परीक्षणमा ७१ वर्षे ट्रम्पको स्नायू प्रणाली तथा मानसिक स्वास्थ्य राम्रो देखिएको जानकारी दिए।
गएको वर्ष राष्ट्रपति बने यता ट्रम्पको पहिलो पटक पूर्ण स्वास्थ्य परीक्षण भएको हो।
ट्रम्पको समग्र स्वास्थ्य अवस्था राम्रो रहेको डा. ज्याक्सनले बताए।
परीक्षणबाट ट्रम्प कार्यकालभरि स्वस्थ रहने देखिएको डाक्टरको भनाइ छ।
पत्रकार माइकल वुल्फीले ट्रम्प प्रशासनका बारेमा लेखेको पुस्तक ‘फायर एण्ड फ्यूरी’मा ह्वाइट हाउस प्रशासनकै धेरै कर्मचारीले ट्रम्पको मानसिक स्वास्थ्यमा प्रश्न गरेपछि विवाद सुरु भएको थियो।
यसले ट्रम्पको ज्ञानात्मक समस्या रहेको आरोप लागेको थियो। तर ट्रम्पले ज्ञानात्मक परीक्षणमा राम्रो प्रदर्शन गरेको डाक्टरले बताएका हुन्। (एजेन्सी)
सम्बन्धित समाचारहरु…