
काठमाडौँ – अभिनेत्री केकी अधिकारीको आज जन्मदिन हो। २०४६ साल पुसको ३ गते उनको जन्म भएको हो। सामाजिक सञ्जालमा डिसेम्बर १७ मा नै उनले जन्मदिनको शुभकामना पाइसकेकी छन्।
उनी भन्छिन्, ‘मेरो दुई दिन जन्मदिन भयो, सामाजिक सञ्जाल, फ्यान अनि मिडियाको लागि डिसेम्बर १७, घर परिवारको लागि पुस ३।’ देश सञ्चारसँग कुरा गर्दै केकीले भनिन्, ‘आज १२ बजे मलाई नित्या कार्कीले जन्मदिनको सन्देश पठाएर शुभकामना दिइन्, उनी मेरो प्लस टुको साथी हुन्।’
केकीलाई भेटेर चाँही आमाले साढे ५ बजे जन्मदिनको शुभकामना दिइन्।
जन्मदिन अरु बेला भन्दा खास हुन्छ, उमेर बढ्दै जाँदा, करियरमा अगाडि बढ्दै गर्दा धेरै साथी बन्छन्, केही छुट्टिन्छन्। जन्मदिनमा अरुबेला कुराकानी नगर्ने साथी भाई, इस्टमित्रले पनि शुभकामना दिन्छन्। फेसबुक, इन्स्टाग्राममा केकीले यस्तो खालको माया पनि पाएको बताइन्।
‘जाडोको मौसम छ, सबैको शुभकामना पाउँदा न्यानो महशुस भएको छ।’ उनले भनिन्, ‘यो दिन खुसी मनाउँदा आजमात्रै जन्मिएको जस्तो अनुभूति हुन्छ।’
केकीलाई आफ्नो जन्मदिन धेरै हल्ला खल्ला गरेर, केक काटेर मनाउन मन लाग्दैन, उनले भनिन्, ‘केक काट्ने सँस्कृति हामीले अन्तबाट सिकेका हौँ, साथी भाई सर्कलमा मात्र हो, नत्र साधारण तरिकाले मनाउन मन लाग्छ।’ यसो भन्दैमा उनले केक नै नकाटेको भने होइन्, उनले अनुभव सुनाइन्, ‘दुई वर्ष अगाडि एकै दिनमा पाँच ओटा केक काटेको छु।’
केकीले कलाकारिता सुरु गरेको १० वर्ष भयो। त्यो भन्दा अगाडि एक दुई वर्ष केक काटेकी थिइन्, त्यसपछाडि उनी धेरैजसो सुटिङ सेटमा कि त मिडिया अन्तरक्रिया हुँदा उनको जन्मदिनको केक काटिएको छ। उनी भन्छिन्, गएको वर्ष पनि म ‘रज्जा रानी’ को प्रेस मिट गर्ने बेलामा जन्मदिन परेको थियो।’
उनी चलचित्र, मिडिया क्षेत्रभन्दा टाढा हुँदा घरमा मिठो खाने, नजिकका साथी तथा आफन्त बोलाउने भेटघाटमा जन्मदिन मनाउने गरेको बताउछिन्, तर यो वर्ष भने हजूरबुबा बितेकोले अगाडिको जस्तो नहुने बताइन्।
तथापि साथीहरुले उनलाई सप्राइज दिन सक्छन् भन्ने उनलाई लागेको छ। ‘अहिले केक काट्ने चलन धेरै बढेको छ, बालक, वृद्ध सबैले जन्मदिनको खुसी साट्न केक काट्छन्, बेलुनसँग रमाउछन्, मलाई राम्रो लाग्छ। ’ उनी भन्छिन्, ‘यो दिन हरेक मान्छेले आफूलाई बच्चा भएको अनुभूति गर्छ जस्तो लाग्छ।’

केकी अधिकारी।
उनीसँग बाल्यकालमा जन्मदिन मनाएका मिठा अनुभव पनि छन्, ‘सायद सबैले गरेका होलान्, माया गर्ने साथीलाई दुईओटा र कम मिल्ने साथीलाई एउटा चकलेट दिएको छु।’
नयाँ वर्ष, जन्मदिन खुसीयालिसँगै नयाँ प्रण गर्ने दिन पनि हो। हामी यो दिनबाट नयाँ काम गर्ने सुरुवात, आफूलाई प्रतिवद्धता गर्ने गर्छौ। केकीले जन्मदिनमा पनि केही प्रण गरेकी छन्, ‘हुन त प्रण गरे अनुसार दुरुस्त त पुग्दैन, तर पनि यो वर्ष मैले सामाजिक सञ्जाल प्रयोग कम गरेर किताबमा बढि समय दिने सोचेको छुँ।’ सामाजिक सञ्जाल धेरै आवश्यक पनि छ तर उनी यसलाई कम चलाउन चाहन्छिन्। यो भन्दा अगाडि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकी नयाँ चलचित्र निर्माणको लागि पुस्तक पढिरहेको बताउँछिन्।
अहिले उनले अभिनय गरेको चलचित्र ‘सरकारी जागिर’ को छायांकन भइरहेको छ। भिडियो मोडलबाट अभिनेत्री अनि निर्मात्री बनेकी केकीलाई प्रगतिसहित जन्मदिनको धेरै धेरै शुभकामना ।