
हाछ्युँ आउँदा रोक्ने प्रयास गरेमा त्यसले गम्भीर स्वास्थ्य समस्या आउने र ज्यानैसम्म जाने सक्ने देखिएको छ। हाछ्युँ आउनका लाग्दा त्यसलाई रोक्नका लागि नाक र मुख बन्द गरेमा घाँटीमा गम्भीर चोट लाग्न सक्ने डाक्टरले चेतावनी दिएका हुन्।
इंग्ल्याण्डको लेस्टर शहरमा ३४ वर्षका व्यक्तिको उपचारको क्रममा उनले हाछ्युँ आउँदा रोक्न खोजेकाले घाँटीको कोशिका फाटेको पत्तालागेको हो। हाछ्युँ रोक्न खोजेमा त्यसले घाँटी तथा कानमा गम्भीर असर पर्ने देखिएको साइन्स जर्नल बिएमजे केस रिपोर्टमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ।
हाछ्युँ रोक्न खोज्दा मस्तिष्कको नशा पनि फुट्न सक्ने डाक्टरले बताएका छन् । ३४ वर्षका ति व्यक्तिले हाछ्युँ रोक्ने प्रयास गरेका थिए। त्यसक्रममा उनलाई घाँटीमा केही फाटेको जस्तो महसुस भएको थियो। त्यसको लगतै उनको घाँटीमा गम्भीर दुखाई सुरु भयो।
खानेकुरा निल्न तथा बोल्न समेत समस्या हुन थाल्यो । त्यसपछि मात्रै उनी अस्पताल गएका थिए । परीक्षणको क्रममा उनको गर्दनको भित्री भाग सुन्निएको देखियो।
एक्स–रे गरेर हेर्दा हाछ्युँ रोक्ने प्रयास गर्दा उनको श्वासनलीका कोशिकामा चोट लागेको देखियो । त्यसको उपचारका लागि ति व्यक्ति एक हप्तासम्म अस्पतालमा बस्नु पर्यो।
हाछ्युँका कारण विभिन्न सुरुवा रोग सर्ने डर रहने भएकाले रुमाल वा नभए हातैले भए पनि मुख छोप्नु पर्ने तर हाछ्युँ नै रोक्न भने नहुने लेस्टर रोयल इन्फर्मरी अस्पतालका डाक्टरले बताएका छन्। हाछ्युँ रोक्दा मस्तिष्ककै नशामा गम्भीर चोट लागेर ज्यानै जाने खतरा रहेकाले सचेत हुनु पर्ने उनीहरुले बताएका छन्।