
काठमाडौँ मलको चौथो तला, लिफ्ट चढेर ३० सेकेण्ड, खुडुकिला उक्लेर ५ मिनेट। कहिले सुबिस्तासँग त कहिले सास फुलाउँदै उक्लेको ११ वर्ष भएछ।
सुस्मा महराले बिहानको खानापछिको गन्तव्यबारे हाउभाउसहित बताइन्। चौथो तलामा पाइला राखेपछि देब्रेपट्टि पारदर्शी सिसाले घेरको कोठा देखिन्छ।
माथिपट्टि लेखिएको छ ‘फेसियल हाउस’।
गेटको छेवैको टेबल पछाडि कप्यूटरको स्क्रिन, स्क्रिन अगाडि बसेकी हुन्छिन्, सुस्मा महरा। उनी दिनहुँ आइपुग्ने ‘फेसियल हाउस’ उनको त्यो कर्मथलो हो, जहाँ उनले ११ वर्ष अगाडि औपचारिक रुपमा खुल्ला भयो भनेर रिबन काटेकी थिइन्।
…
गोकर्णको नेवार परिवारमा उनको जन्म भयो, छोराको अपेक्षा गरेर जन्माइएको तेस्रो सन्तानका रुपमा । ‘म छोरी भएर जन्मेको भए पनि मेरो रुप अनि मलाई दिइने जिम्मेवारी मेरा दिदीहरुलाई जस्तो थिएन।’ छोटा कपाल सुम्सुम्याउदै उनले भनिन्, ‘मलाई टेलिफोनको बिल तिर्न, बाहिरबाट सामान घरमा ल्याउन सिकाउनुभयो, कपाल, कपडा पनि छोरीको जस्तो बनाइदिनुभएन।’ उनी क्याजुअल पाइन्ट, टिसर्टमा नै भेटिन्छिन्। कपाल अहिले पनि छोटो नै छ।
सम्पन्न परिवारमा जन्मेकी हुन् सुस्मा। प्लस टू पास गरेपछि सुन्दरताको तालिम लिइन्। डा. पद्मा लामाबाट उनी धेरै प्रभावित भएकी थिइन्। त्यसपछि विवाह भयो। विवाहपछि डिप्लोमाको कोर्स गरिन्। ‘पार्लरमा दिइने प्राय सबै सेवा मलाई आउँछ’ उनी भन्छिन्, ‘मैले धेरै ठाउँमा सिकेको छु।’
२०५५ सालदेखि उनी सौन्दर्य क्षेत्रमा आबद्ध छिन्। नाम अगाडि सौन्दर्यविद्को उपमा जोडिन्छ। तर काम सुरु गर्दा यति लामो गन्तव्य सोचेको होइन।
उनले भनिन्, ‘त्यो बेला मैले फेसियल हाउस मात्र हैन, कपडाको बुटिक, अरु फ्यान्सी सामानको पसल पनि खोलेकी थिएँ।’ पार्लर पार्टनरसिपमा खोलेको हो। पछि एउटालाई मात्र अगाडि लैजाने निर्णय गर्दा सौन्दर्यको व्यवसाय अगाडि बढ्यो। सुरु गर्दा पाँचजना सहयोगी थिए, अहिले २३ पुगेका छन्।
काठमाडौँमा जो सुन्दर हुने रहर गर्छन् अथवा कामले श्रृंगार गर्नुपर्छ, त्यसको लागि सुस्माको नाम नौलो होइन्। उनी आफ्ना हरेक ग्राहकलाई उपयुक्त श्रृंगार गर्न र ग्राहकको मन खुशी पार्न माहिर छिन्। ‘हो म व्यवसायी हुँ, तर आफ्नो फाइदामात्र हेर्न मिल्दैन’ दिगो सोचेर काम गर्नुपर्ने भन्दै उनले भनिन्, ‘ग्राहकलाई काम गरेर मात्र हैन समय दिनुपर्छ अनि उपयुक्त सुझाव पनि।’
उनी आफ्नो पेशालाई सेकेण्ड डाक्टरी पेशा भन्छिन्। ‘कपालमा प्रयोग गर्ने कलरमा केमिकलको मात्रा कति हाल्ने भन्ने थाहा हुन पर्छ। कपालको गुणस्तरलाई पनि हेर्नु पर्छ।’ उनी भन्छिन्, ‘तल माथि भयो भने काम नराम्रो हुन्छ अनि व्यवसायमा संकट आउँछ।’ सीपसँगै युक्ति लगाउने क्षमता पनि हुनुपर्छ भन्ने उनको तर्क छ।
उनको पार्लरमा महिला र पुरुष दुवैले सेवा लिन्छन्। महिलाको हकमा उनी भन्छिन्, ‘३० कट्नु अगाडि हामी त्यसै सुन्दर हुन्छौँ। त्यसपछि नै हो, श्रृंगार गर्नुपर्ने।, अनुहारमा दाग देखिन्छ, कपाल फुल्न थाल्छ, चाउरी पर्न थालेपछि पार्लर जान थाल्नु ठीक हो, नत्र पर्दैन।’ छाला राम्रो बनाउन खानामा पनि ध्यान दिनुपर्ने उनले भनिन्।
परिवार सम्पन्न भएकोले उनले कमाउने भन्दा पनि कुरा बुझ्नमा लागिन्। उनलाई भइरहेको भन्दा फरक तरिकाले काम गर्न थाले। उनी देश बाहिर, शहर बाहिर जाँदा पनि पसल हेर्थिन्, काम गर्ने तरिका हेर्थिन्।
उनका लागि व्यवसाय पैसा मात्र हैन। विश्वास सबैभन्दा ठूलो कुरा हो। ग्राहकलाई समय दिनाले उनलाई सम्झने कयौँ छन्। उनले भनिन्, ‘दोहोरो कुराकानीले विश्वास जित्न सकिन्छ, अनि सम्बन्ध राम्रो हुन्छ।’ पहिलोपटक जो आउँछन्, दोस्रोपटक साथी लिएर आउँछन्। उनी पैसा तिरेर विज्ञापन दिएको छैन भन्छिन्। उनको काम बिनिमय प्रणाली जस्तै छ।
उनकोमा नेपाली कलाकारहरु पनि पुग्छन्। मोडल पनि पुग्छन्।
११ वर्षमा उनका ६ वटा ब्रान्च बनिसकेका छन्। नयाँ खोल्ने तयारी छ। सुरु गर्दा सानो कोठाबाट सुरु भएको थियो। पार्टनरसँग काम गर्दा राम्रो अनुभव भएन, त्यसैले अहिले एक्लैको अधिकार छ। तर उनका श्रीमान उनको सहयोगी बनेर सधैँ उनको साथमा रहिरहे।
उनलाई टेक्नोलोजिले सहयोग गरेको छ, सहज बनाएको छ। एकै ठाउँमा बसेर सबैलाई व्यवस्थापन गर्न सकिएको छ। उनी खोज खबर गर्न रुचाउँछिन्।
कमाईको विषयमा यस्तै हुन्छ भन्न नसकिने उनले बताइन्। ‘पैसा कमाउने भनेर नै मैले काम गरेको हैन। रहर पूरा गरेको हो। अहिले मलाई चल्न सहज छ। त्यस्तो नाफा वा घाटा हुन्छ भन्न सकिदैन।’ उनलाई लाग्छ नेपालमा खटाई धेरै छ, बचत गर्न सकिँदैन। काम गरे अनुसार कमाई छ तर खर्च धेरै हुन्छ। हाँस्दै उनी भन्छिन्, ‘धन त यस्तै हो, मलामी चाहिँ धेरै कमाएकी छु।’ आफ्नो काम सदाबहार भएको बताउने सुस्मा काम यसरी नै चलिरहोस् जस्तो लाग्छ।
सफलता पूर्वक ११ वर्ष पार गर्दा खुशी भए पनि आफ्नो उमेर ढल्कँदै छ भनेको पटक्कै मन पर्दैन। ठट्टा गर्दै उनी भन्छिन्, ‘फेसियल हाउस जवान हुँदै जाँदा सुस्मा दिदी बुढी भई भन्छन्, उमेर जता पुगेपनि मन धेरै जवान छ।’ उनका तर्क पनि गज्जबका छन्, ‘म आफू अरुलाई राम्रो बनाउने, जवान फिल गराउने आफै त्यस्तो अनुभव गरे भने काम नै लाग्दैन नि।’
उनले सुन्दरतालाई दुई भागमा बाँडेकी छन्, ‘बाहिरी र भित्री’। बाहिरी सुन्दरताको काम गर्ने सुस्मा भित्री सुन्दरता धेरै हुनु पर्ने बताउँछिन्।