
काठमाडौँ – चलचित्र, संगीत र साहित्यको अध्ययन र लेखनमा सक्रिय रहेका प्रकाश सायमीको पुस्तक चलचित्र कला र प्रविधिको तेस्रो संस्करण सार्वजनिक भएको छ ।
प्रदर्शनीमार्गमा रहेको पर्यटन बोर्डको हलमा मंगलबार विशेष कार्यक्रमकाबिच सञ्चारकर्मी समेत रहेका सायमीको पुस्तक चलचित्र कला र प्रविधि विमोचन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्रकर्मी तथा संस्कृतिविद चेतन कार्की र विशेष अतिधि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदारभक्त माथेमाले सायमीको पुस्तक विमोचन गरेका हुन् ।
सायमीले पुस्तकमा विश्व चलचित्रको इतिहास र विकासक्रमसँगै नेपाली चलचित्रको विकासका विभिन्न चरणहरुलाई प्रस्तुत गरेका छन् ।
शिक्षाविद केदारभक्त माथेमाले आफू लेखकको व्यक्तित्वबाट परिचित रहेको बताउँदै पुस्तक सफलताका लागि शुभकामना दिए ।
पुस्तकका बारेमा पत्रकार तथा चलचित्र समीक्षक शेखर खरेलले बोलेका थिए । उनले सायमीको चलचित्र कला र प्रविधि नेपालको मात्रै नभएर विश्व चलचित्रको वंशावली रहेको बताए ।
चलचित्रको सबै पक्षका बारेमा पुस्तकमा समग्रतामा समेट्न सायमी सफल रहेको खरेलले बताए । यो पुस्तक चलचित्रबारे अध्ययन गर्न चाहनेका लागि पाठ्य पुस्तक सरह रहेको उनको भनाई छ ।
तर पुस्तकमा नेपाली चलचित्रको पछिल्लो क्रममा भएको परिवर्तन र परिवेशका बारेमा नरहेकाले त्यसलाई आउँदा संस्करणमा समेट्न उनले सुझाव दिए । समग्रमा पुस्तक चलचित्रका बारेमा कुनै न कुनै रुपमा चासो राख्नेहरुका लागि पठनीय रहेको समीक्षक खरेलले बताए ।
प्रमुख अतिथि संस्कृतिविद चेतन कार्कीले लेखक सायमीले पुस्तकमा चलचित्रको सम्पूर्ण पक्षलाई समेट्न सफल भएको भन्दै बधाई दिए ।
उनले चलचित्र कला, संगीत, नाट्य तथा प्रविधिको समिश्रात्मक रुप रहेकाले यसलाई ललितकलाको छैटौँ विधा मान्नु पर्ने भन्दै सायमीले यो विधाको समग्रता पुस्कतकमा समेटेको बताए ।
लेखक सायमीले आफूले पुस्तकमा चलचित्रका बारेमा आफूले गरेको अध्ययन र बुझेका कुराहरुलाई लिपिबद्ध गरेको बताए । पुस्तक शब्दहार क्रियसनले प्रकाशन गरेको हो । यसको मूल्य ३०० रुपैयाँ रहेको छ ।