
धनगढी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भारत र अमेरिकाले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरेको दावी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र अमेरिकासँग केही विषयमा कुरा नमिलेकाले दुवै देशले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरेको उनले दावी गरेको हुन्। तर के विषय नमिलेको हो भन्ने चाँही उनले खुलाएनन्।
बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै प्रकाण्डले सरकारले भारत र अमेरिकाको खेलका कारण आगामी ६ महिना पनि टिक्न गाह्रो रहेको दावी गरे।
पाँच वर्ष भनेर दावी गरिएपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र अमेरिकासित स्वार्थ नमिलेका कारण सरकार पुरा समय नटिक्ने जिकिर गरेका प्रकाण्डले संसदवादी दलहरु विदेशीका गोटी बनेकाले यस्तो स्थिति आएको बताए।
विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी भारतीयहरुले परिचालन गरेको आरोप लागिरहेको र नेताहरु विदेशमा गएर भारतीय गुप्तचर संस्था ‘रअ’का मान्छेसित कुराकानी गरिरहेको हल्ला चलिरहेको भन्ने सन्दर्भमा पनि उनी प्रष्ट पारे।
प्रकाण्डले भने, ‘यो वर्तमान सत्तासीन दल नेकपामा अध्यक्ष प्रचण्डले हलुका रुपमा आफ्नो पार्टीको बद्नाम गर्न फैलाएको हल्ला भएको हो।’
उनले आफ्नो पार्टीले जवरजस्ती चन्दा संकलन गरिरहेको कुरामा सत्यता नरहेको उल्लेख गर्दै सहयोग मात्रै लिएको जिकिर गरे।