
धनगढी – एक नाबालकसहित ७ प्रहरीको हत्या भएको टीकापर घटनामा संलग्न भएको आरोपमा पूर्पक्षका लागि कैलाली कारागारमा रहेका नेता लक्ष्मण थारु बिरामी परेका छन् ।
थारुको बिहिबार रातीदेखि टाउको, कान र छाति दुख्ने समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । शुक्रबार सामान्य उपचारपछि कारागार लगिएका थारुको स्वाथ्य अवस्थामा सुधार नआएपछि शनिवार पनि धनगढीकै कैलाली अस्पतालमा लगिएको थियो ।
तर, डाक्टर नभएको भन्दै उनलाई उपचार नगरेरै फिर्ता गरिएको थियो । थारुलाई आइतवार बिहान पाँच बजे पनि चेकजाँचका लागि सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा लगेर सामान्य उपचार गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले थारुलाई अहिले १० बजे फेरि विशेषज्ञ डाक्टरलाई देखाउन अस्पताल लगिने जानकारी दिए ।
कैलाली कारागारका प्रमुख महेन्द्र खड्का भने हाल काठमाण्डाैँमा छन् ।
बिरामी परेका नेता थारु र उनका आफन्तले उपचारमा लापर्वाही गरिएको आरोप लगाएका छन् ।
थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । उक्त घटनाको योजना बनाएको र संग्लन रहेको भन्दै लक्ष्मण थारु पूर्पक्षका लागि थुनामा छन् ।