
काठमाडौँ–सरकारले प्रदेशका अस्थायी केन्द्र तोकेलगतै उक्त हैसियतबाट बञ्चित चार ठाउँमा बन्द र हिंसाका घटनाले तीव्र रुप लिएका छन्। प्रदेश नम्बर १ को धनकुटा, २ को वीरगञ्ज, ५ को दाङ र ७ को दीपायलमा विरोध भएका छन्।
प्रदेश नम्बर १ को राजधानी र तत्कालका लागि अस्थायी केन्द्रको दाबी प्रस्तुत गर्दै आएको धनकुटामा प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालय तोडफोड र आगजनी गरे।
प्रदर्शनकारहरुले आगो लगाइदिएपछि प्रहरी र स्थानीयबासीबीच झडप भएको थियो। प्रशासनले तनावग्रस्त परिस्थितिलाई नियन्त्रणमा लिन निशेधाज्ञा जारी गरेको छ।
प्रदेश नम्बर २ को अस्थायी केन्द्र जनकपुर तोकेपछि वीरगञ्जमा भन्सार कार्यालयसँगै बजार र यातायात ठप्प भएका छन्। राजधानी तथा मुलुकका अन्य भागमा आपूर्तिको मूख्य प्रवेशद्धार मानिने वीरगञ्ज ठप्प भएपछि खाद्यन्न, इन्धन र अन्य आवश्यक सामग्रीको अभाव हुने सम्भावना समेत बढेको छ।
प्रदेश नम्बर ५ को अस्थायी केन्द्रको प्रवल दाबेदार दाङ्गमा सत्ताधारी कांग्रेस लगायत सबै दलहरुले बुटवललाई अस्थायी केन्द्र तोकिएकोमा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। दाङ्गमा बिहीबार बन्दसँगै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्।
त्यस्तै दीपायललाई धनगढीको साटो प्रदेश नम्बर ७ को अस्थायी केन्द्र बनाउने माग राखी सडक प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबिच झडप भएपछि कमसेकम चार व्यक्ति घाइते भएका छन् र आधा दर्जन सवारी साधनमा तोडफोड भएको छ।