
पोखरा – नेपाली कांग्रेसका नेताहरुले निजी भ्रमणका क्रममा पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार भेटेका छन्। पूर्व राज्यमन्त्री सुशीलमान शेरचनसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका हुन्।
जननायक विपी कोइरालाले वि.संं. २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएको सन्दर्भमा हरेक वर्ष कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।
सोही सन्दर्भमा विपीको क्याविनेटमा मन्त्री रहेका योगेन्द्र शेरचनका छोरा एवं गण्डकी क्षेत्रका लोकप्रिय नेता सुशीलमान शेरचनले पूर्वराजा शाहसँग भेट गरेका छन्। शेरचनसँगै स्थानीय कांग्रेस नेताले पनि शाहसँग भेट गरेका छन्।
पुस २ गते पोखरा आएका शाह दुई सातासम्म यहाँ रहने जनाइएको छ। निजी भ्रमणका क्रममा उनले धार्मिक शक्तिपीठहरुको दर्शन गर्नुका साथै स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ताहरुसँग पनि भेटवार्ता गरेका छन्।