
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर एकाउन्टमार्फत ‘फेक न्युज अवार्ड’ को घोषणा गरेका छन्। उनले ‘द न्युयोर्क टाइम्स’लाई ‘फेक न्युज अवार्ड’को विजेता बनाएका छन्।
जनवरीमा २ तारिखमा उक्त अवार्ड घोषणा गर्ने उनले जानकारी दिएका थिए। ट्रम्पले यसलाई सारेर १७ जनवरीमा सार्वजनिक गरेका हुन्।
ट्रम्पले उक्त सम्मान ‘एबीसी न्युज’, ‘सीएनएन’, ‘टाइम’, ‘वासिङटन पोस्ट’ र ‘न्युजविक’लाई प्रदान गरेका छन्। उनले ११ को नाम सार्वजनिक गरेका छन्। उनको ‘फेक न्युज अवार्ड’को घोषणा गर्दागर्दै वेबसाइट ‘जीओपी डटकम’ ठप्प भएको थियो।
त्यस साइटमा झूटो समाचार लेख्ने पत्रिकाको नाम राखिएको थियो। वेबसाइटमा भनिएको छ, ‘सन् २०१७ मा पूर्वाग्रही गलत समाचार कभरेज र झूटो समाचारले भरिए। ती समाचारको विश्लेषण गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा सम्प्रेषण गरिएका समाचार ९० प्रतिशत नकारात्मक थिए।’
उनले ट्विट गर्दै ‘भ्रष्ट एवं झूट’ समाचारको खेती गरे पनि कुनै पत्रकार भने सम्मान गर्न योग्य भएको पनि बताए।
उनले झूट र खराब पत्रकारिता गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मानित गर्नुपर्ने बताउँदै आएका थिए। ट्रम्पले राष्ट्रपति चुनाव प्रचारका क्रममा ‘पक्षपातपूर्ण’ खबर दिने सञ्चारमाध्यमलाई निशाना बनाउँदै आएका थिए।
ट्रम्पले सबैभन्दा पहिलो वरियतामा राखेका सञ्चारकर्मीमा पल क्रुगम्यान छन्। उनले ट्रम्प राष्ट्रपतिमा विजयी हुनासाथ न्युयोर्क टाइम्समा ट्रम्पको शासनकालभरि बजार सुध्रन नसक्ने ठोकुवा गरेका थिए। यसैगरी एबीसी न्युजका ब्रायन रोस र वासिङटन पोस्टका डेभ विगल पनि छन्।
पल क्रुगम्यान
उनी सन् २००८ का नोबल पुरस्कार विजेता हुन्। उनले सन् २०१६ को नोभेम्बरमा अर्थशास्त्र नजानेको वा गैरजिम्मेवार व्यक्तिको नेतृत्वमा अमेरिका जान थालेको उल्लेख गरेका थिए।
सन् २००८ सालको आर्थिक मन्दीभन्दा अमेरिको अवस्था गतिलो नभएको बताउँदै उनले ट्रम्पको आलोचना गरेका थिए। यसैगरी सन् २०१७ को जनवरीमा उनले ‘द वर्स्ट एन्ड द डम्बेस्ट’ भन्ने लेख लेखेर ट्रम्पको मानसिक अवस्थाबारे आलोचना गरेका थिए।
दुई सय वर्ष लगाएर बनाएको अमेरिकालाई ध्वस्त पार्न मानसिक अवस्था ठिक भएको व्यक्तिलाई कैयौं वर्ष लाग्ने भन्दै ट्रम्पप्रति संकेत गरेका थिए। गत डिसेम्बरमा उनैले ‘अमेरिका इज नट येट लास्ट’ लेखमा ट्रम्प नैतिक एवं बौद्धिक रूपले अयोग्य सावित भएको बताएका थिए।
सम्बन्धित समाचारहरु…