
काठमाडौं- नेपालका प्रविधि व्यवसायीहरूको समूह गुगल बिजनेस ग्रुप काठमाडौंले पुस २१ गतेदेखि जिबिजि बिजफेस्ट आयोजना गर्ने भएको छ।
खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको बिजफेस्ट नेपालमा पहिलो प्रविधि र व्यवसाय सम्बन्धि प्रदर्शनी हुने गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवालले बताए।
उनले भने,’जीबीज बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो।हामी नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्ट अपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ। यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया सिक्ने अवसर पाउनेछन्। जसले उनीहरुको व्यापार प्रवर्द्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ। यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरु, साथै गुगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौँ।’
उनले नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरु र प्रतिनिधिहरू सहभागि हुने बताए। यसका साथै मेलामा देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्द्धन गर्ने छन्।
मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने छन् भने गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीन हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता हुनेछन्।
कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिहरु सम्बन्धि कार्यशाला प्रस्तुत गर्ने छन्।साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ। प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्ने छन्।
उक्त निर्देशिकामा सूचिकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्ने छन्।