दाङ – राजमार्ग ठप्प छ। यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु ओसारेको भन्दै जाँच गरेर मात्रै गुड्न दिइएको छ। विद्यालय बन्द छन्। बजार, उद्योग खुल्न सकेका छैनन्। सरकारी कार्यालय पनि बन्द गरिएको छ।
लगातार तीन दिनदेखि जारी आम हडतालका कारण दाङको जनजीवन प्रभावित भएको छ। ‘सरकारले दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्छ, हामी ठगिएका छौँ, आम हड्ताल चलिरहँदा हाम्रो दैनिक जीवन पनि प्रभावित हुन थाल्यो’, स्थानीय बासिन्दा अनिता शर्माले भनिन्, ‘सरकार दाङलाई राजधानी तोकेर न्याय गर ।’
दाङमा प्रदेश नम्बर ५ को राजधानी माग्दै थालिएको आन्दोलनले यहाँको जनजीवन प्रभावित भएको छ। सङ्घर्षमा उत्रिएकाहरुले सरकारी कार्यालय समेत खुल्न दिएका छैनन् । पूर्व–पश्चिम राजमार्गको दाङखण्डका एक दर्जन बढी स्थानमा आन्दोलनकारीले अवरोध सृजना गरेका छन् । रुख, ढुङ्गा, टेन्नट टाँगेर राजमार्ग अवरुद्ध पारेका छन् ।
दाङ भित्रने नाका बन्द छन् । प्युठान र रोल्पाबाट भित्रने गाडी भालुवाङ्ग भन्दा ७ किलोमिटर पर कालाकाटे, अमेलियामा रोकिएका छन् ।
यता दाङ प्रादेशिक राजधानी सरोकार समितले आम हड्ताललाई मर्यादित बनाउँदै निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । शनिबार १२ बजे लमहीमा जिल्ला स्तरीय बिरोध कार्यक्रम आयोजना गर्ने र त्यहाँ थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी रहेको समितिले जनाएको छ।
दाङमा फेरि जल्यो प्रधानमन्त्री देउवाको पुतला
प्रदेश ५ को अस्थायी राजधानी रुपन्देही घोषणा भएपछि दङ्गाबासी सरकारको बिरोधमा सडकमा छन् । उनीहरुले शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहीबार पनि दाङ्गमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाको पुतला दहन गरेका थिए ।
भिडियो पनि हेर्नुहोस्: