
पोखरा- गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
प्रदेश सरकार अन्तर्गका सरकारी, सार्वजनिक कार्यालय, शैक्षिक संघसंस्था लगायतलाई बिदा आह्वान गरिएको छ। प्रदेशमा नेपालको जनगणना २०६८ अनुसार मगर समुदायको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ भने थारु समुदायको जनसंख्या ४१ हजार १ सय ५९ छ।
कुल जनसंख्याको १८.९ प्रतिशत मगर समुदाय र १.७ प्रतिशत थारुहरुको संख्या छ। प्रदेशको लमजुङ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दी मगर समुदायको बाहुल्य स्थान हो। नवलपुर जिल्लामा मात्रै विशेषगरी यस प्रदेशमा थारु समुदायको बसोबास रहँदै आएको छ।
हालसम्म उक्त दिन बिदा दिने की नदिने भनेर संघीय सरकारले निर्णय गरिसकेको छैन्। यसअघि प्रदेश सरकारले तमु ल्होसारको अवसरमा पुस १५ गते घोषणा गरेको बिदामा संघीय सरकार मातहतका जिल्ला प्रशासन, राष्ट्र बैंक लगायत खुला रहेका थिए।