
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश मन्त्रीपरिषदको बिहीवारको बैठकले माघी पर्वका उपलक्ष्यमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
मन्त्रीपरिषदको नियमित बैठकले प्रदेशमा थारु र पहाडी समुदायको महत्वपूर्ण पर्व भएकोले सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए।
बिजनेश नपाएर प्रदेश सभाको हिउँदे अधिबेशन अनिश्चित भएको भन्दै आलोचना बढिरहेकै बेला प्रदेश सरकारले माघ-४ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ।
प्रदेश सरकारले मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुखलाई अधिबेशन आव्हानका लागि सिफारिस गरिने जानकारी दिएको छ।
प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन माघ ४ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभाको बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको बताए।
प्रवक्ता शाहका अनुसार मन्त्रीपरिषदको विहिवारको बैठकमा बिभिन्न १० वटा प्रस्तावहरुमा छलफल गरेको छ। बैठकले भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशु पंक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, सामाजिक विकास मन्त्रालयको व्यावसायिक सीपमुलक तालिम सञ्चालन कार्यविधि २०७५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन तथा जलाधार तर्फका कार्यक्रम सञ्चालन तथा मार्गदर्शन कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ।
सोही मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास विधेयक, प्रादेशिक वातावरण संरक्षण विधेयक, तर्जुमा गर्न गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत भएको छ।