
वीरगञ्ज– नेपालमा बढ्दो बेरोजगारीको समस्या र चाँडै पैसा कमाउने लोभमा अहिले दिनहुँ एक हजारभन्दा बढी युवा विदेश गइरहेका छन्। देशमा रोजगारी नपाउनु र पाए पनि घर परिवार चलाउनै मुस्किल हुने भएकाले धेरै युवाको मनमा वैदेशिक रोजगारीमा जाने सोच आइहाल्छ।
विदेशमा गए चाँडै पैसा कमाउन सकिने र परिवारको आर्थिक अवस्थामा सुधार गर्न सकिने देखेर धेरैले हिजोआज वैदेशिक रोजगारीलाई नै रोज्छन्।
नेपालबाट युवाहरु बिशेष गरी मलेसिया, कतार, साउदी, दुबई, ओमानलगायतका मुलुकमा पहिलेदेखि नै जाने गरेका छन्।
विदेश जानेबितिक्कै महिनाको लाख रुपैयाँसम्म सजिलै कमाउन सकिने सोच लिएर युवाहरु घरबार खेत लगायत धितो राखेर बिदेशिन्छन्। तर, खाडी मुलुक जाने बितिक्कै टन्नै पैसा कमाइ हुन्छ भन्ने हुँदैन। बिदेशबाट फर्किएकाहरुको अनुभव पनि यही हुन्छ।
अनि विदेशमा हण्डर खाएर फर्किनेहरुले यहीँ रोजगारीको सम्भावना देख्छन्। अनि विदेशमा भन्दा यहीँ राम्रो कमाइरहेका पनि गाउँघरमा भेटिन थालेका छन्।
यसको एउटा उदाहरण हुन्, वीरगञ्ज महानगरपालिकाका रबिन्द्र मण्डल। उनी करिब ६ बर्षअघि मलेसिया गएका थिए। मलेसियामा ३ बर्ष काम गरेर फर्केका मण्डलले अहिले मलेसियामाभन्दा बढी कमाइ गरिरहेका छन्।
मलेसियामा ३ बर्ष इलेक्ट्रोनिक कारखानामा काम गरेर फर्केका मण्डलले त्यहाँ रहँदा खासै कमाउन सकेनन्। उनले सोचेजस्तो भएन परदेशको रोजगार।
मलेसिया जाँदा २ लाख खर्च गरेका मण्डललाई पठाउने एजेन्टले महिनाको ६० हजारसम्म कमाइ हुन्छ भनेका थिए। तर, त्यहाँ पुग्दा त्यति कमाइ भएन। एजेन्टले घरमै आएर ढाँट्लान् भनेर उनले सोचेनन् पनि।
महिनाको ६० देखि ७० हजार बस्छ भनेका थिए। मण्डलले भने, ‘मेरो यहाँ रोजगारी थिएन। बुबाआमाले पनि जाउ भनेपछि मैले नकार्ने कुरै भएन।’
उनलाई विदेश पठाउन बुबाले २ लाख रुपैयाँ ऋण काढे। सुरुका दिनमा त काम राम्रे चलेको थियो। तर ६ माहिना भएपछि उनले काम गर्ने कम्पनी नै बन्द भयो।
आफू गएको कम्पनी बन्द भएपछि उनीहरुलाई अर्को कम्पनीमा पठायो। त्यहाँ भने पहिलेको जस्तो भएन। महिनाको मरितरि २५ हजार हात लाग्न थाल्यो। पहिलेको कम्पनीमा ६० हजारसम्म तलव थापेका थिए।
पछिल्लो कम्पनीमा बिदाको पैसा पनि ठेकेदारले नदिने, काम गरेको दिनको मात्र पैसा दिन थाल्यो। जाँदाको ऋण जसरी पनि तिरेर फर्किनु पर्ने बाध्यता थियो उनलाई। त्यही भएर करार अवधि हुन्जेल तीन वर्ष काम गरे।
३ बर्ष काम गरेर फर्केपछि मण्डलले बिवाह गरे। फर्केको एक वर्षसम्म कतै पनि जागिर पाएनन्। बाबुआमाले त उनलाई फेरि पनि विदेश जान सल्लाह दिइरहेका थिए। मण्डल पनि यहाँ कुनै काम नपाएपछि जाने मनस्थितिमा पुगिसकेका थिए। तर श्रीमतीले भने आफूलाई छाडेर विदेश नजान कर गरिरहेकी थिइन्। बरु जे जस्तो हुन्नछ यही गरेर खानु पर्छ भन्ने उनकी श्रीमतीको सल्लाह थियो।
‘सासु आमाले पनि विदेश नजानु भन्नुभयो’, मण्डल भन्छन्, ‘विदेशमा जोखिम हुन्छ बरु यही कुनै व्यवसाय गर्नु भन्नु भयो, अनि मैले पनि यहीँ केही गर्ने सोचेँ।’
उनको सोचलाई दाजुले बल थपे। अटो रिक्सा किनेर चलाउन सुझाए दाजुले। यो कुरा बुबाआमाले पनि मानेपछि अटो रिक्सा किनेर चलाउन थाले उनी। मण्डल अचेल यही रिक्सा चलाएर महिनाको ५० हजार रुपैयाँसम्म कमाउँछन्।
‘दैनिक १५ देखि २५ सयसम्म बस्छ’, रबिन्द्र भन्छन्, ‘नभएको महिना पनि ५० हजार कमाउँछु। मलाई किन चाहियो विदेश।’
बिहान ८ बजे खाना खाएर घरबाट अटो रिक्सा लिएर बजारतिर निस्कन्छन्। बिहान खाना खाएर रित्तो गोजी बजार निस्केका मण्डल साँझ गोजिभरी पैसा लिएर फर्किन्छन्।
तलबका लागि महिना मर्नु पर्दैन। काम पनि आफूलाई जाँगर चले गर्यो नचले बस्यो। अर्काको तनाव छैन। ‘रिक्सामा उधारो कारोबार हुँदैन, रिक्साबाट ओर्लिने बेलामा हातमा पैसा दिएर जान्छन्, यो भन्दा मज्जा के हुन्छ र!’
२ वर्ष पहिले उनले फाइनान्सबाट ऋण किस्तामा रिक्सा ल्याएका थिए। महिनाको १६ हजार फाइनान्समा बुझाउँछन्। तेल हालेर बचेको रकम बैंकमा जम्मा गर्छन्।
रबिन्द्रको कमाई देखेर मण्डलका साथीहरुले पनि अहिले अटो रिक्सा कनेर चलाउन थालेका छन्।
‘राम्रो कमाई भएपछि मेरो ६ जना गाउँकै साथीहरुले पनि म जस्तै अटो रिक्सा किनेका छन्’, मण्डलले भने, ‘उनीहरुले पनि महिनाको ४० देखि ५० हजार कमाउँछन्।’
अटो रिक्साबाट राम्रो कमाइ भएपछि मण्डल अहिले विदेशको नाम पनि सुन्न रुचाउँदैनन्। यहाँ पैसाको मात्रै कुरा छैन। गाउँलेको सेवा पनि भएको छ । गाउँका कोही बजारतिर जानु पर्यो भने रबिन्द्रलाई सम्झिन्छन् । अनि उनी रिक्सा लिएर घरमै पुग्छन्, लिनलाई।
गाउँमा कोही बिरामी भएपनि आजकाल अटोरिक्साकै प्रयोग गर्छन्। रिक्सा छिटो पनि र सस्तो पनि। मण्डल भन्छन्, ‘अब रिक्सा चलाएर कमाएको पैसाले म्याजिक भ्यान किन्छु।’