
नयाँ बजेट सम्बन्धी विधेयक सिनेटमा असफल हुँदा अमेरिकाका संघीय निकाय बन्द भएका छन् । सिनेटमा प्रस्तुत भएको संघीय सरकारलाई आउँदो फेब्रुअरी १६ सम्म कार्यसञ्चालन खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित हुन नसक्दा सरकारी कामकाज ठप्प भएको हो ।
संघीय सरकारलाई कार्यसञ्चालनका लागि प्रदान गरिने सम्बन्धी विधेयक सिनेटबाट पास हुनका लागि ६० मत आवश्यक थियो । तर डेमोक्र्याटिक सिनेटरले विधेयक पास हुन दिएनन् ।
कंग्रेस र ह्वाइट हाउसमा एउटै पार्टीको नेतृत्व रहेका बेला सरकारी कामकाज ठप्प भएको आधुनिक अमेरिकाको इतिहासमा यो पहिलो पटक रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
के अमेरिकामा सरकारी कामकाज ठप्प हुन्छ ?
विधेयक असफल हुँदा संघीय निकायमा काम गर्ने हजारौँ कामदार प्रभावित भएका छन् । डेमोक्र्याटिक पार्टीले विधेयकलाई राजनीतिक प्रतिशोधको विषय बनाएको ह्वाइट हाउसले आरोप लगाएको छ ।
उनीहरुका कारण राष्ट्रिय सुरक्षा, सेना तथा तिनका परिवार, समस्यामा रहेका बालबालिका तथा नागरिकलाई सेवा गर्न सक्ने देशको क्षमतामाथि प्रहार भएको ह्वाइट हाउसको आरोप छ ।
तर डेमोक्र्याट सिनेटर चक स्चुमरले भने दुई पार्टीबिच भएको दुई सहमतिबाट राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेकाले आफूहरुले विधेयकको पक्षमा मत नदिएको बताउनुभयो ।
यसअघि पछिल्लो पटक सन् २०१३ मा अमेरिकी सरकारको कामकाज ठप्प भएको थियो । तर त्यसबेला ह्वाइट हाउसमा डेमोक्र्याटिक तथा सिनेटमा रिपब्लिकनको नियन्त्रण थियो ।
स्थानीय समय अनुसार शुक्रबार राति भएको मत विभाजनमा विधेयक असफल भएको हो । स्थानीय समय अनुसार शनिबार बिहानदेखि संघीय निकायहरुमा अत्यावश्यक बाहेक व्यवसायिक काम ठप्प भएका छन् ।
हाउजिङ, वातावरण, शिक्षा तथा वित्तिय विभागका कर्मचारीहरु ऋब घरमै बस्ने छन् । यस्तै कोष तथा लेखा, स्वास्थ्य, सुरक्षा र यातायात विभाग अन्तर्गतका कार्यालय पनि सोमबारसम्म बन्द रहने छन् ।
यस्तै भिसा तथा पासपोर्टको काम पनि ढिला हुने भएको छ । राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेको एक वर्ष पुगेकै दिन सरकारी कामकाज ठप्प भएको हो ।