
६ पटकका च्याम्पियन नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । शनिबार भएको खेलमा चोटका बाबजुद सर्बियन जोकोविचले अल्बर्ट रामोस–विनोलासलाई हराएर चौथो चरणमा स्थान बनाएका हुन् ।
जोकोविचले विनोलासलाई ६–२, ६–३ र ६–३ को सेटमा हराएका हुन् । जोकोविचले गएको वर्ष जुलाईमा विम्बल्डनपछि पहिलो पटक खेलिरहेका छन् । उनी चोटका कारण ६ महिना कोर्ट बाहिर रहे ।
अन्तिम १६ मा जोकोविचले दक्षिण कोरियाका २१ वर्षे हेयिओन चुङसँग प्रतिस्पर्धा गर्ने छन् । चुङ ग्राण्ड सलामको अन्तिम १६ मा पुगेका हुन् ।