
धनगढी – धनगढीको रातोपुलमा रहेको होटल जलसाबाट आफ्नै सहकर्मी अपहरण गरी कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका युवालाई उद्दार गर्न पनि प्रहरी सफल भएको छ ।
होटलमै विवाद भएपछि होटलमा वेटरको काम गर्ने डोटीको दीपायल सीलगढी नगरपालिका वडा नम्बर ४ घर भई हाल धनगढी–२ सन्तोषीटोल बस्ने चक्र खड्काले आफ्ना साथीहरु बोलाएर होटलको भान्छाका कर्मचारी बसन्त भाटलाई अपहरण गरेका हुन् ।
अपहरण गरी आफूलाई सन्तोषी टोल हुँदै मोहना नदी छेउको जंगलमा पु¥याएर कुटपिट गरिएको बसन्तले बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ६ का बसन्तको अपहरणमा प्रयोग गरिएको मोटरसाइकल सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपहरणका मुख्य योजनाकार चक्र खड्कासँगै से ७ प ३४४५ नम्बरको मोटरसाइकल धनि धनगढी–२ का हर्केश बाग र आदर्श गाउँपालिका डोटीका कुन्दन जोशी रहेका छन् ।

अपहरणमा प्रयोग गरिएको मोटरसाइकल
अपहरणमा संलग्न छत्र कठायत फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलसहित हर्केश धनगढी–२ बैयाबेहडी स्थित आफ्नै घरबाट र अन्य दुई जना फरक फरक स्थानबाट पक्राउ परेको वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
अपहरणकारीहरुसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले पीडित भाटलाई कुटपिट समेत गरेका छन् । अपहरणमा परेको खबर पाउने बित्तिकै प्रहरी परिचालित गरिएको थियो । सोमवार बिहान पौने १० बजेको समयमा अपहरण भएको र मोटरसाइकलमा लगिरहेको रातोपुल देखि बसपार्क सम्मका ब्यापारीले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
पीडित कार्यरत होटलबाट उनको मोवाइल नम्बर लिएर सम्पर्क गर्दा टेलिफोन अपहरणकारीले नै उठाएर आफूहरुले बसन्तलाई मारेर खाडलमा गाडिरहेको भनेका थिए । त्यसलगत्तै प्रहरीले लोकेशन पत्ता लगाएर पीडितको उद्दार गरेको हो ।
पीडित बसन्त भाटका अनुसार चक्र खड्का एक हप्ता अघि मात्रै होटलमा काम गर्न आएका थिए । उनले ग्राहकको अर्डर स्पष्ट शब्दमा नटिपेरै भान्छामा स्लिप पठाएपछि आफूले नबुझेको भन्दा विवाद भएको बताए ।
त्यसपछि खड्काले आफूलाई देखाइदिने भन्दै धम्क्याएको र बाहिर गएर साथीहरु बोलाएर जबर्जस्ती मोटरसाइकलमा राखि मोहनातर्फ लगेर ् कुटपिट गर्दै तलाई यही बाँधेर खाल्डोमा हाल्छु भनेको उनले बताएका छन् ।