नेपालगञ्ज – बाँकेलाई पाँच नम्बर प्रदेशको राजधानी गराउनका लागि राजनीतिक दलले संघर्ष समिति बनाएका छन् ।
संघर्ष समितिको संयोजक चक्रीय प्रणाली अनुसार अघि बढ्ने नेताहरुले बताएका छन् । राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउने काम चाहिँ पापड बाँकेले गरेको थियो ।
ठूलो पार्टीको हैसियतले अध्यक्ष मण्डलको पहिलो संयोजक एमालेका बाँके उपाध्यक्ष निरक गुरुङले गरेका छन् । संघर्ष समितिको नेतृत्व पार्टीको हैसियत अनुसार क्रमशः हुनेछ ।
अध्यक्ष मण्डलको आइतबार बिहान बैठक बसेर आन्दोलनको खाका तयार गर्ने र निरन्तर आन्दोलन अघि बढ्ने संयोजक गुरुङले बताए ।
पापडले शनिबार सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर कार्यक्रम गरेपछि दलहरुलाई आन्दोलनको चाबी हस्तान्तरण गरेको हो ।
सांसद इस्तियाक राई, विधायकहरु सुरेन्द्र हमाल र याकुव अन्सारी, एमालेका सचिव रत्न खत्री, माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्य, राप्रपाका महामन्त्री एवं नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्जलाई प्रदेशको राजधानी गराउनका लागि राजनीतिक दलबिचमा साझा धारणा बन्नु पर्ने बताए ।
‘आफ्नै पार्टीमा साझा धारणा बनाएर कडा आन्दोलन गरौं, नेताहरुले भनेका छन् ।
सांसद राईले आन्दोलन बिना सिन्कोसम्म नभाँचिने उल्लेख गरे । पार्टीहरुलाई सामूहिक राजीनामा दिएर आन्दोलनमा लाग्नुपर्नेमा राईको जोड थियो ।
वारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, पापडका जिल्ला अध्यक्ष बलबहादुर चन्दले राजनीतिक सहमति गरेर आन्दोलन अगुवाई दलहरुले गर्दा राजधानी कायम गर्न सकिने बताए ।
नेपालगञ्जका केही नेताहरुले बाँकेलाई ६ नम्बरमा मिसाउनेदेखि दाङको पक्षमा लबिङ गरेको तर्फ व्यंग्य गर्दै अधिवक्ता सापकोटाले ‘माया एउटासँग, बिहे अर्कोसँग होइन, माया गर्नेसँग नै बिहे’ गर्नुपर्ने बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































