
धनगढी- तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
थ्री स्टार मेची नेत्रालय काक्करभीट्टालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै पुलिस फाइनल पुगेको थियो। उपाधिका लागि शनिवार दिउँसो २ बजे धनगढी रंगशालामा खेल हुने छ।
दुवैको उपाधि जित्ने दाउ
फाइनलमा पुगेका दुवै टोलीले मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेका छन्।
फाइनलबारे शुक्रवार खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाउँका साथ मैदानमा उत्रिने बताए ।
‘अहिलेसम्म योजना अनुसार खेल्दै हामी फाइनलमा पुगेका छौ ।’ पुलिसका कप्तान विक्रम धिमालले भने, ‘फाईनलमा पनि अझै योजना अनुरुप खेल्दै उपाधि जित्ने प्रयासमा हुन्छौ ।’