उज्यालो पस्किँदै आएका डा. रामप्रसाद पोख्रेल

दृष्टि दिलाउने ‘युद्ध’ जित्दै आएका ‘आँखा बा’

दृष्टि दिलाउने ‘युद्ध’ जित्दै आएका ‘आँखा बा’
+
-

नेपालमा आँखा उपचारले दक्षिण एशियालाई उछिन्दै अगाडि बढेको छ । पहिला–पहिला आर्थिक अवस्थाले भ्याउनेहरु रोग लाग्ने बित्तिकै आँखा उपचारका लागि विदेश जान्थे । उपचार गराएर फर्किन्थे ।

तर अहिले विदेश गएर उपचार गराउने आर्थिक हैसियत भएकाहरु पनि उपचारकै लागि विदेशीने क्रम कम हुँदै गएको छ । उनीहरु यहिँकै अस्पतालमा उपचार गराउन थालेका छन् । आँखाको उपचारका लागि भन्दै विदेश जाने मानिस कमै होलान् । नेपालमा आँखा उपचारले फड्को मारिसकेको छ । त्यसैले मानिसहरु विभिन्न देशहरुबाट आँखाको उपचारका लागि नेपाल आउने गरेको समेत पाइएको छ ।

उनीहरु नेपाल आउँछन्, आँखाको जाँच गराउँछन् र खुशी हुँदै फर्किन्छन् । आँखा उपचारले यति प्रगति गर्नुको मुख्य व्यक्ति हुन् ‘आँखा बा’ अर्थात डा. रामप्रसाद पोख्रेल ।

धनकुटाको गोकुण्डेश्वर माध्यामिक विद्यालयबाट एसएलसी गरेका डा. पोखे्रलले भारतको इलाहावादस्थित केपी कलेजबाट आईएसी गरेका हुन् । आईएसी पछि लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबिबिएस र बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट एफआरसिएससम्म सकेका उनी आँखा उपचारका पायनियर हुन् ।

धनकुटामा जन्मिएका आँखा बा सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएका हुन् । उनले लण्डनका विभिन्न अस्पतालमा काम गरे । लण्डनमा काम गर्दा उनलाई आँखा सम्बन्धी धेरै अनुभव भइसकेको थियो । त्यसैले नेपाल आइसकेपछि डा.पोख्रेललाई आँखा सम्बन्धी काम गर्न र बुझ्न सहज भयो । नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरे । वीरमा काम गरिरहँदा उनले बिरामीलाई नजिकैबाट नियाल्ने अवसर पाए ।

वीरमा आँखाका बिरामीका लागि १६ शैया छुट्याईएको थियो । आँखाका कयौँ बिरामी उपचार गर्न नपाएर घर फर्किएका र वर्षौँसम्म पालो कुर्नु पर्ने अवस्था उनले देखे । अस्पतालमा शैया र डाक्टरका अभावका कारण आँखाका बिरामीले पाइरहेको दुःखले उनको मनमा चिसो पस्यो । बिरामीका लागि केही गर्नुपर्छ भन्ने आँखा बा अर्थात डा. पोख्रेलले सोचे ।

बेलायतमा काम गरिरहँदा उनलाई कामका लागि धेरै अफर आउन थाले । उनलाई बेलायतकै नागरिक भएर काम गर्ने अफर आयो । सँगसँगै अमेरिकाबाट काम लागि उनको हातमा आयो । उनले त्यस समयमा आफू दुविधामा परेको बताए । उनले भने, ‘त्यो समयमा धेरै सोचें, अन्त्यमा अरुको देशमा बसेर काम गर्नु भन्दा स्वदेश फर्किने निर्णय गरे र फर्किए ।’

७५ वर्षका डा. पोख्रेल अहिले पनि बिरामीको सेवा गर्दै आएका छन् । सानै उमेरदेखि गम्भीर स्वभावका उनी पहिला कवि बन्न चाहान्थे । स्कूल पढिरहँदा उनले धेरै कविता लेख्ने गर्थे, कविता समारोहमा भाग लिन्थे । उनका पिताजी आयुर्वेदका आचार्य थिए । त्यसैले उनका पिताजीले उनलाई कवि बनेर बाँच्न गाह्रो छ, तिमी डाक्टर बन्नु पर्छ भनेर बारम्बार सल्लाह लिने गरेको उनी बताउँछन् ।

डा. पोख्रेलले वीर अस्पतालमा काम गर्दा नेपाल सरकारले जिल्लाका दुर्गम क्षेत्रमा शिविर संचालन गरेको थियो । शिविरमा उनले एकदिनमा २ देखि ३ सय बिरामीको शल्यक्रिया गरेको अनुभव सुनाए । त्यही समयमा उनले आँखाका बिरामीको अवस्था थाहा पाएका थिए । उनले भने, ‘दुर्गम जिल्लामा शिविर पुग्दा मानिसहरु टाढा–टाढाबाट आँखा देख्न नसक्ने विरामीका आफन्तले उनीहरुलाई डोकोमा बोकेर उपचारका लागि ल्याएको देखेँ, त्यसपछि मैले यस्ता बिरामीका लागि केही गर्नुपर्छ भन्ने सोचें र काम सुरु गरेँ ।’

उनले धेरै भन्दा धेरै आँखा शिविरमा भाग लिने अबसर पाए । सबै जिल्लामा शिविर संचाललन हुुँदा बिरामीको अवस्थाको बारेमा अध्ययन गरे । आँखाकै बारेमा लेख लेख्न थाले र गोरखापत्र, राज्य नेपालमा लेखहरु छापिन थाले । आफूलाई सहयोग गर्न सक्ने सही व्यक्ति को हुन सक्छन् भनेर अनुसन्धान गर्न थालेको उनले बताए । यस्तो अनुसन्धानका लागि उनलाई तीन वर्ष लागेको उनले सुनाए ।

सन् १९७४ मा विभिन्न तहका पदाधिकारीको उपस्थितीमा उनले नगर पञ्चायत भवनमा बैठक राखे। बैठक बस्नु भन्दा पहिला उनले स्वास्थ्य मन्त्रालयको सचिवलाई पत्र पठाएका थिए । तर स्वास्थ्य मन्त्रालयले समर्थन गर्नुको साटो उल्टै उनलाई कारवाही गर्ने भनेर पत्र पठायो । यति हुँदासम्म पनि उनी नआत्तिएर आफ्नो काममा अगाडि बढे ।

आँखा बिरामीका लागि केही गर्ने सोच भएता पनि उनले ठाउँ भेटेनन् । त्यसबेलामा उनले न्यूरोडमा आफ्नो क्लिनिक पनि संचालन गरिरहेका थिए । उनले भने, ‘सधैँ जस्तो त्यो दिन पनि म क्लिनिकमा बसिरहेको थिएँ, क्लिनिकमा एक जना व्यक्ति आउनु भयो र उहाँले त्रिपुरेश्वरमा एउटा खाली गेष्ट हाउस छ । तपाईँ त्यसैको सदुपयोग किन गर्नु हुन्न भनेर सल्लाह दिनुभयो ।’ त्यसपछि उनी पुतलिसडकमा रहेको गुठि संस्थानको कार्यलयमा पुगेर कुरा राखे । गुठिलाई चाहिएको समयमा फिर्ता गर्ने सहमति अनुसार उनले ठाउँको व्यवस्थापन गरे ।

डा. पोख्रेलका सहयोगी हातहरु

डा. रामप्रसाद पोख्रेल


ठाउँको व्यवस्थापन भइसकेपछि डा. पोखे्रलले बिहान वीर अस्पताल र दिउँसो नेपाल आँखा अस्पतालमा काम गर्न थाले । लण्डनबाट नेपाल फर्किदा आफूले ल्याएका केही सामानको प्रयोग गरेर नेपाल आँखा अस्पतालमा काम सुरु गरेको उनी बताउँछन् । उनले काम गर्दै जाँदा वीर अस्पतालका कम्पाउन्डरले काम गर्न सहयोग गरे ।

भवन पुरानो भएका कारण जीर्र्ण अवस्थामा थियो । भवनको नजिकै रहेको जग्गाको लागि उनी लडे र मुद्दा जिते । त्यस समय एक रोपनी जग्गाको मुल्य २२ हजार थियो । उनले पैसा जुटाएर ६ रोपनी जग्गा किने । उनले जग्गा किने पनि भवन बनाउन सुरु गरेका थिएनन् । उनलाई भवन कसरी बनाउने भन्ने चिन्ता लागिरहेको थियो ।

एक दिन अस्पतालमा एक क्यानेडियन नागरिक आँखा उपचार गराउँन आए, । उनको आँखामा डेन्डेटिक अल्सर भएको थियो । उपचारपछि निको भएता पनि आँखामा सानो दाग बाँकी नै थियो । क्यानेडियन नागरिकलाई लण्डनको एक अस्पतालमा रिफर गरिदिएको उनले बताए । क्यानेडियन नागरिक लण्डन अस्पताल गए । चेकजाँच गराए तर त्यहाँको डाक्टरले उनलाई ‘पहिला जहाँ उपचार गराएका थियौ त्यहिँ जाउँ, त्यहाँ भन्दा राम्रो अर्को ठाउँ हुँदैन’ भनेर उनलाई फेरि नेपाल नै रिफर गरिदिए ।

लण्डनबाट नेपाल आएर डा. पोखे्रललाई सबै कुरा बताए र भने,‘आइ वान टू पे यू !’ क्यानडियन नागरिकाको यस्तो कुरा सुनिसकेपछि डा. पोख्रेलले मलाई पैसा चाहिन्न, सक्छौ भने यस अस्पतालका लागि त्यो खाली ठाउँमा भवन बनाउन मद्दत गर भनेर आग्रह गरे । उनको सहयोगमा क्यानडियन एम्वेसीले डा. पोख्रेललाई ५ सय डलर हात दिएर भन्यो ‘भवन निर्माणका लागि हामी क्यानडियन सरकारसँग कुरा गर्ने छौँ ।’

केही समयपछि क्यानडाको अपरेसन आईसाइट नामक संस्थाले भवन निर्माणका लागि ६० लाख सहयोग गर्‍यो । यसरी क्यानडाको सहयोगमा अस्पतालको भवन निर्माण सम्पन्न भएको डा. पोख्रेलले बताए । डा. पोखे्रल भन्छन्, ‘नेपाल आँखा अस्पताल क्यानडा र नेपाल बिचको एक नमुना हो, जस्ले दुई देशबिचको मित्रताको सम्बन्धको सुरुवात गरेको थियो ।’

नयाँ भवनको निर्माण सम्पन्न


भवनको निर्माण सम्पन्न भइसकेपछि त्यसको उद्घाटन राजा वीरेन्द्रले गरेका थिए । त्यस समयमा राजा विरेन्द्रले डा. पोख्रेललाई उपत्यकावासीका लागि तिमीले नेपाल आँखा अस्पताल खोल्यो, अब बाहिर जिल्लाहरुका बारेमा के सोचेका छौ भनेर प्रश्न सोधेका थिए ।

त्यो प्रश्नले उनलाई अन्य जिल्लाका बिरामीका लागि सोच्न बाध्य बनायो । उनले बिस्तारै नेपालका सबै जिल्लाहरुमा नेपाल नेत्र संघ खोल्न सुरु गरे ।

आँखाका बिरामी


अहिले नेपालमा एक वर्षमा ६ लाख मोतिबिन्दुका बिरामीको शल्यक्रिया गर्ने गरेको उनी बताउँछन् । ६ लाख मध्ये २ लाख नेपाली र अन्य ४ लाख विदेशी रहेको उनले बताए । डा. पोख्रेल र डब्लुएचओले गरेको सर्वेेक्षणका अनुसार हिमाली क्षेत्रमा मानिसलाई ७० वर्ष, पहाडिमा ६० वर्ष र तराईमा ४० वर्षपछि मोतिबिन्दु हुने गरेको छ । मोतिबिन्दु मात्र नभएर ट्रकोमा, जिरेपथल्मिया, क्याट्याक्ट जस्ता रोग देखा परेका थिए ।

ट्रकोमा जसमा आँखाका परेला बटारिएर आँखाको नानी घोचेर मानिसहरु दुष्टिबिहीन हुने समस्या हुन्छ । यो रोग सुदूरपश्चिममा धेरै देखिएको थियो । जिरेपथल्मिया मानिसहरुमा भिटामीनको कमी र कुपोषणको कारण हुने गर्छ । यस्ता रोग देखिएपछि नेपालमा प्रयाप्त मात्रामा डाक्टरहरु नभएका कारण विभिन्न देशका डाक्टरहरुले सहयोग गरेका थिए ।

त्यस समयदेखि नै डा. पोख्रेलले भिटामिन सबै बच्चालाई अनिवार्य खुवाउनु सुरु गरे । जसले गर्दा केही हदसम्म यस्ता रोग नियन्त्रण भएका थिए । सरकारले ‘भिटामिन ए’ ले यस्ता रोग निको भएको थाहा पाएपछि एक वर्षमा खुई पटक भिटामीन खुवाउन सुरु गरेको डा. पोख्रेलले बताए । ट्रकोमा र क्याट्याक्ट अहिले नेपालमा निवारण भइसकेको छ ।

डाक्टर पढ्न बाहिर पठाउँदा


‘डाक्टरहरुलाई बाहिर पढ्न पठाउँदा एक दिनको तीस रुपैयाँ दिने चलन थियो,’ उनले भने । तर आफूले भने पाँच हजार दिएर पढ्न पठाएको बताए । त्यसो गर्दा बाहिर पढ्न जानेहरुको संख्या बढ्न थालेका अनुभव उनले सुनाए ।

पहिलेको जस्तो अवस्था अहिले नेपालमा नभएको उनी बताउँछन् । नेपालमा भइरहेको आँखा उपचार दक्षिण एसीयामै राम्रो भएको उनी बताउँछन् । जोसुकैले पनि इमान्दारीपूर्वक काम गरेमा अवश्य पनि सफल हुने विश्वास डा. पोख्रेलले राखेका छन् । अझै नयाँ सामग्री र दक्ष डाक्टरहरु उत्पादन गर्नु पर्ने आवश्यकता रहेको उनी बताउँछन् ।

आँखाका बिरामी


नेपाल आँखा अस्पतालले आँखाको उपचार सुरु गरेको समयमा दिनमा २० देखि २५ जना बिरामी चेकजाँचका लागि आउने गरेको डा. पोख्रेलले बताए । तर पछि बिस्तारै बिरामीमा अस्पताल प्रति विश्वास बढ्दै गएपछि बिरामीको चाप बढेर ५ सयसम्म पुग्ने गरेको उनले बताए । उनले भने, ‘हामीले विभिन्न ट्रेनिङ्ग दिन सुरु गर्यौँ ।’

त्यो समयको जस्तो अहिले बिरामी उपत्यका बाहिरबाट आउँदैनन् । उपत्यका बाहिर राम्रा अस्पताल भएका कारण उनीहरु उतै चेक गराउँछन् । उनी भन्छन्, ‘जनचेतनाका कारण अहिले धेरै मानिसहरुले आँखा उपचारमा ध्यान दिन थालेका छन् ।’

धेरै बच्चाहरुमा दृष्टि दोष देखिने भएका कारण हरेक आमा बुवालाई आफ्नो बच्चाको आँखा चेकजाँच गराउन डा. पोख्रेलले सल्लाह दिने गरेका छन् ।

खुशी


डा. पोख्रेलले भने, ‘जब दुवै आँखा नदेख्ने व्यक्तिलाई उपचारका लागि बोकेर शिविरमा ल्याइन्थ्यो र शल्यक्रियापछि आँखा देखेर आफै हिँड्न सक्ने भएपछि उनीहरुको मुहारमा झल्केको खुशीले अत्यन्तै आनन्दित बनाउँथ्यो, ठूलो युद्ध जिते जस्तो हुन्थ्यो ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?