
काठमाडौँ – गीतमा जीवन र जगतका सबै चिजबस्तुको स्थान सरल र सहज रुपमा प्रस्तुत हुन्छ । जीवनको ओसिलोपन अनि उसैगरी न्यानो परिवेश, अप्ठ्यारो र सजिलो, खुकुलो वा फुरुङ्ग बनाउने मुस्कान अनि ओझेल्याउने आँसु, आश र सपना, रहर र यर्थाथ सबैले गीतमा ठाउँ पाएका हुन्छन् ।
जीवनको लालित्यमयी अभिव्यक्ति गीत रहेको वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्की बताउँछन् । यस्तै विविध परिवेशहरुको सरल र लयात्मक प्रस्तुति रहेका गीतहरुको संगैह ‘गीतिका’ शनिबार विमोचन भएको छ ।
गीतकार सुवासचन्द्र ढुंगेलले रचना गरेका गीतहरुको संग्रह गीतिकाको शनिबार जमलमा रहेको संस्कृति संस्थानमा विशेष कार्यक्रम गरेर विमोचन गरिएको हो ।
प्रमुख अतिथिको रुपमा रहेका संस्कृतिकर्मी कार्कीले गीतकार ढुंगेलका गीतहरु उनको सरल जीवनको उस्तै प्रस्तुति रहेको बताए । उनले भने, ‘गीतकार ढुंगेलले नाम जस्तै कर्म र व्यवहारले आफ्नो सुवास छरेका छन् । उहाँका गीतहरुमा जीवनको सुवास भेटिन्छ । सजिलो–अप्ठ्यारो पाइन्छ।’
गीतकार ढुंगेलका नयाँ–पुराना गीतहरुको संग्रहको रुपमा आएको ‘गीतिका’ संग्रहित ‘मन बिना बाँच्न पाए हुन्थ्यो दुई–चार वर्ष’ गतिकी गायिका संगीता प्रधान रानाले आफूलाई यो गीत गाउँदा अति आनन्द आएको र गायका मध्ये प्रिय रहेको बताइन् । गीतहरुमा गीतकार ढुंगेलले आफ्नो भावना सबैको हुने गरी प्रस्तुत गरेको उनले बताइन् ।
यस्तै वरिष्ठ संगीतकार दीपक जंगमले चार दशक भन्दा लामो समयदेखि सक्रिय ढुंगेलबाट जति सुन्दर गीतहरु नेपाली संगीतले पाउनु पर्ने हो त्यति नपाएको र यसको दोषी गीतकार नभई परिवेश रहेको बताए । उनले अब अझै धेरै राम्रा सिर्जनाहरुको अपेक्षा ढुंगेलबाट गरिएको बताएका छन् ।
बिन्दवासिनी म्युजिकले बजारमा ल्याएको गीतिकामा संग्रहित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’ बोलको गीतले समग्र मानव भावना अभिव्यक्त गरेको गायक दीपक खरेलले बताएका थिए ।
अविदको संगीतमा तयार भएका गीतमा संगीता प्रधान राना, दीपक खरेल, दीप श्रेष्ठ, राममृष्ण ढकाल, भक्तराज आचार्यसहितको स्वर छ ।
विमोचन समारोहमा वरिष्ठ गीतकार नगेन्द्र थापा, नेपाली कला, साहित्य, संगीत र चलचित्रका ज्ञाता प्रकाश सायमीसहितले गीतकारका बारेमा बोलेका थिए । गीतकार ढुंगेल जति राम्रा गीत लेख्छन्, त्यो भन्दा पनि राम्रो व्यवहार भएका असल मानव रहेको सायमीले बताए ।
गीतकार ढुंगेलका गीतहरुमाथि शरद प्रधानले समीक्षा गरेका थिए । गीत लेखनी र गायकीमा कुनै खोट लगाउने ठाउँ नरहेको उनले बताए । तर संगीतकारले केही नयाँ स्वाद दिएको भए अझ उत्कृष्ट बन्ने उनको भनाई थियो ।