थोमस मुलरले जर्मन बुण्डेस लिगा फुटबलमा एक सय गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति वेर्डेर ब्रेमेनसँगको खेलमा दुई गोल गरेको मुलरले बुण्डेस लिगामा एक सय गोलको आँकडा पूरा गरेका हुन् ।
यो खेलमा लिग लिडर बार्यन म्युनिखले वेर्डेरलाई ४–२ ले हरायो । बार्यनको जितमा मुलर जस्तै रोबर्ट लेवान्डोस्कीले पनि दुई गोल गरे । मुलरले ४१ र ८४ तथा लेवान्डोस्कीले ६३ र ७६ औँ मिनेटमा गोल गरेका हुन् ।
वेर्डेरका लागि २५ औँ मिनेटमा गोनडोर्फले गोल गरे । ७४ औँ मिनेटमा बार्यनका सुलीले आत्मघाती गोल गरेका हुन् । मुलरले बुण्डेस लिगामा दुई सय ७२ खेलमा एक सय गोल गरेका हुन् ।
लिगमा लगातार छैटौँ जित दर्ता गरेको लिडर बार्यनको १९ खेलबाट ४७ अंक भएको छ । उ दोस्रो स्थानको बार्यन लेभरकुजन भन्दा १६ अंकले अघि छ ।

भर्खरै
लोकप्रिय






































































































































































































