
पोखरा-शुक्रबारदेखि सभागृहहलमा पोखरा महानगरपालिकाको चौथो नगरसभा सुरु भएको छ।
नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा जारी नगरसभामा महानगर कार्यपालिका बैठकको निर्णयबाट विधायन समितिले तयार गरेको ८ विधेयकका मस्यौदा र एक आचारसंहिता नगरसभामा पेस भएको छ।
हिउँदे अधिवेनको रुपमा यस सभामा महानगरले स्थानीय तहलाई प्राप्त अधिकार अनुसार कानुन निर्माणको कामलाई महानगरले गति दिएको नगरप्रमुख जिसीले जानकारी दिए।
सभामा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र महानगरका पदाधिकारीहरुको आचारसंहिता सम्बन्धी विधेयकको मस्यौदा विधायन समितिका संयोजक समेत रहेका वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले पेस गरेका हुन्।
स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई दिएको अधिकार र क्षेत्राधिकार भित्र रहेको उल्लिखित विधेयक तयार गरिएको विधान समिति संयोजक पौडेलले जानकारी दिए।
महानगरपालिकाको आर्थिक विधेयक सभामा पहिलो संसोधनको प्रस्ताव हालिएको छ।नगरसभाबाट पारित सहकारी नियमावली २०७५ खारेज भएको छ। सहकारी ऐन नबन्दै नियमावली बनाइएकाले व्यवहारतः कानुनी रुपमा मेल नखाएको भन्दै महानगरले सो नियमावली खारेज गरेको प्रवक्ता समेत रहेका ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।
नयाँ सहकारी विधेयक सभामा प्रस्तुत भएको छ।‘पक्रियागत रुपमा कानुन निर्माण गर्दै जानुपर्ने भएकाले अवस्था हेरेर महानगरले विधेयकका मस्यौदा तयार गरेको छ,’ उनले भने। प्रस्तुत विधेयकमाथि छलफल गर्नका लागि समय दिइएको छ। छलफल पश्चात्त प्राप्त संसोधन सहितको विधेयक सभाबाट पारित गरिने छ।
जनप्रतिनिधि चुनिएर आएको १९ महीनामा पोखरा महानगरले दुई पटक बजेट अधिवेशन र एक पटक हिउँदे नगर सभा सम्पन्न गरिसकेको छ । गत चैत २८ गते सम्पन्न दोस्रो नगर सभाले ४३ वटा विभिन्न ऐन, कार्यविधि, नियमावली, निर्देशिका निर्माण गरेको छ। जारी चौथो नगर सभामा छलफल पश्चात्त पारित भएका विधेयक राजपत्रमा प्रकाशित भएर नगरप्रमुखले प्रमाणित गरेपछि स्थानीय कानुनको रुपमा लागु हुनेछ।
यसअवधिमा संविधानले तोकेको क्षेत्रधिकार स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ मा रहेर पोखरा महानगरले सम्पूर्ण स्थानीय तहहरु मध्ये कानुन निर्माणमा पहिलो भएको दाबी गरेको छ। सभा आउँदो १३ गतेसम्म चल्ने छ।
महानगरबासीका बहुरंगी आकांक्षा नगरप्रमुख जिसी
‘गणतन्त्रलाई संस्थागत गर्ने, सफल बनाउने जिम्मेवारी स्थानीय तहको काँधमा आएको छ,’ नगरप्रमुख मानबहादुर जिसीले भने, ‘घरदैलोमा भेटिने, देखिने, छुन सकिने स्थानीय तहका जनप्रतिनिधि तपाई हामी नै हौं। महानगबासीका बहुरङ्गी आकांक्षा पुरा कसले गरेन भन्दा पनि श्रेष्ठता हुने तर्फ सोचौं र आफूले सकेको गरौं।’
विगतको जस्तै गल्ति दोहोर्याइरहे नागरिकले अब क्षमा नगर्ने उनले सुझाए। चौथो नगरसभामा उपस्थित नगर सभासद्लाई उद्घाटन पछि सम्बोधन गर्दै प्रमुख जिसीले कर्मचारी र निर्वाचित जनप्रतिनिधिमा पनि समस्या रहेको भन्दै सचेत भएर काम गर्न सुझाव दिए।
जनताका आवश्यकता पुरा गर्ने अवसरको रुपमा लिई बाँकी रहेको ६० प्रतिशत कार्यकाल स्वर्णिम बनाउनु पर्ने उनको तर्क थियो। ‘गणतन्त्र स्थापना भएपछिको पहिलो निर्वाचित जनप्रतिनिधिद्वारा हाँसिल भएको समृद्धि इतिहासमा लेखिनेछ,’ उनले थपे, ‘इतिहास सम्झन लायक बनाउने कामले नै हो। नानीबाट लागेको बानी परिवर्तन हुँदैन भनेर हुँदैन सिमित स्वार्थका पछि नलागी काम गरौं।’