
काठमाडौं – न्यूरो शल्यचिकित्सकहरुको दुई दिने प्रशिक्षण कार्यक्रम तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । टिचिङ्ग अस्पतालमा शुक्रबारदेखि सुरु भएको गोष्ठी शनिबार सम्मन्न भएको हो।
नेपाल न्यूरोसर्जन समाजको स्पाइनल च्याप्टरद्वारा आयोजित कार्यक्रममा नव न्यूरोसर्जनहरुलाई न्यूरोसर्जरी अन्तर्गत स्पाइनल सर्जरी अर्थात मेरुदण्डको शल्यक्रिया सम्बन्धी तालिम दिने लक्ष्यले कार्यक्रम गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रहेका जापानका बरिष्ठ स्पाइनल सर्जन प्राध्यापक कुनियोशी आबुमिले करीब ३० जना न्यूरोसर्जनहरुलाई प्रशिक्षण दिएका थिए।
आबुमिसँगै अर्का जापानका बरिष्ठ स्पाइनल सर्जन प्राध्यापक हिरोयुकी मोतेगीले पनि स्पाइनल सर्जरी सम्बन्धि आफ्नो अनुभव प्रस्तुत गरेका थिए। न्यूरोसर्जनलाई बेवारिशे लाशको चिरफार (क्याडाभर डिसेक्सन) गरी स्पाइनल रोग तथा सर्जरी सम्बन्धि बिस्तृत अध्ययन तथा प्रशिक्षणसमेत दिइएको थियो।
नेपाल न्यूरोसर्जन समाजका महासचिब डा. प्रबीण श्रेष्ठले दुई दिनसम्म संचालित कार्यक्रममा न्यूरो सर्जनहरुको दक्ष्यतामा वृद्धि भई देशकै चिकित्सा प्रविधिको विकास हुने विश्वास गरेका छन्।