
काठमाडौँ– गीतकार एव् साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ उपन्यास बजारमा आएको छ।
बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ सान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज कार्की, समाजसेवी एवम् गायिका सबिना कार्की लगायतले शनिबार संयुक्तरुपमा विमोचना गरेका छन्।
उपन्यास विमोचनपछि साहित्यकार बरालले ‘तराजुमा प्रेम’ कवितात्मक शैलीमा लेखिएको रहस्य, कौतुहल, सरलता र मिठासले भरिएको उपन्यास भएको निष्कर्ष निकालेका छन्।
उनले उक्त उपन्यासले युवा पुस्तादेखि सबै उमेर समूहका पाठकलाई गहिराइमा पुर्याएर प्रेमको शक्तिको पहिचान गर्न सहयोग गर्ने उल्लेख गरे।
बरालले भने, ‘निरन्तरता र इमान्दारीले प्रेम प्राप्ति सम्भव छ भन्ने सन्देश यो उपन्यासको कथाले पुष्टि गरेको छ। यो कथा पढ्ने पाठक कहिले रुन्छन्, कहिले मुस्कुराउँछन् त कहिले रोमाञ्चित बन्छन् आफैसँग।’
वरिष्ठ रेडियोकर्मी एवं उपन्यास प्रकाशक बुलबुल पब्लिकेशनका निर्देशक अच्यूत घिमिरेले ‘तराजुमा प्रेम’ उपन्यासले प्रेमको यथार्थ र परिभाषा बदल्ने शक्ति राख्ने बताए।
इलामदेखि राजधानी हुँदै अमेरिकासम्म बगेको उपन्यासले पछिल्लो समयका पुस्ताले गरिरहेको प्रेम र यथार्थको सन्देश समेत बोकेको लेखक दाहालको भनाइ छ।
‘यो उपन्यास पढ्नेले आफ्नै जीवनको प्रेमसँग तुलना गर्न बाध्य हुने छन्। यहाँ प्रस्तुत गरिएका रोचक घटनाक्रमले मानिसको मन तान्छ भन्ने विश्वास छ,’ दाहालले भने।
उनका अनुसार यो उपन्यासले पहिलो प्रेम मात्रै महत्वपूर्ण या सबैथोक हो भन्ने मान्यतालाई तोडेको छ।
तर कुनै पनि विषयमा चाहना विपरित जर्वजस्ती गर्न खोजिएमा दुर्घटना समेत निम्तने सन्देश पनि यो उपन्यासले दिएको छ।
सामाजिक सञ्जालमा आफ्नो गोपनियता ख्याल नगरेमा वा लापरवाही गरेमा त्यसले जीवनमै ठूलो घात गर्ने सन्देश पनि यो उपन्यासले बोकेको लेखकको दावी छ ।
दाहालले झण्डै दुई वर्ष लगाएर लेखेको उपन्यासले साँचो प्रेम गर्दा अनगिन्ति व्यवधान आउने तर त्यसलाई सामना गर्न सके प्रेम अमंर रहने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।
कार्यक्रममा गायक कृष्ण काफ्ले, मनोज सागंसोन र गायीका संगीता रणपयालीले लेखक दाहालका शव्दमा रहेका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए।
गायक मनोज सांगसोन र ६ वर्षीया रिबेका लामाले गाएको गीत आफैमा रोचक थियो।