
पोखरा- पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठ विधेयक र एक आचारसंहिता बहुमतले पारित गरेको छ।
नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न नगरसभामा आठ विधेयक र एक आचारसंहिता गएको शुक्रबार विधायन समितिका संयोजक समेत रहेका वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले पेस गरेका हुन् । छलफलका लागि बोलाइएको आइतबारको सभामा उपस्थित नगरसभासद्हरुबाट प्राप्त सुझाव सहित संसोधन गरि विधायन समितिले पेश गरेका सबै विधेयक पारित भएको संयोजक पौडेलले जानकारी दिए।
सभाबाट आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र महानगरका पदाधिकारी/कर्मचारी आचारसंहिता पारित भएको हो।
स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई दिएको क्षेत्राधिकार भित्र रहेर उल्लिखित विधेयक पारित गरिएको संयोजक पौडेलले जानकारी दिए । सभाबाट यसअघि प्रमाणिकरण भइसकेको शिक्षा ऐनमा समेत केही संसोधन गरिएको पौडेलले बताए।
जनप्रतिनिधि चुनिएर आएको १९ महीनामा पोखरा महानगरले दुई पटक बजेट अधिवेशन र दुई पटक हिउँदे नगर सभा सम्पन्न गरिसकेको छ । गत चैत २८ गते सम्पन्न दोस्रो नगर सभाले ४३ वटा विभिन्न ऐन, कार्यविधि, नियमावली, निर्देशिका निर्माण गरेको थियो।
चौथो नगर सभामा छलफल पश्चात्त पारित भएका विधेयक राजपत्रमा प्रकाशित भएर नगरप्रमुखले प्रमाणित गरेपछि स्थानीय कानुनको रुपमा लागु हुनेछ । हालसम्ममा पोखरा महानगरले सम्पूर्ण स्थानीय तहहरु मध्ये कानुन निर्माणमा आफू पहिलो भएको दाबी गरेको छ।
विपक्षी दलको संयोजकत्वमा सार्वजनिक लेखा समिति गठन
चौथों नगरसभाले कांग्रेसबाट निर्वाचित वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङको संयोजकत्वमा ५ सदस्यीय सार्वजनिक लेखा समिति गठन गरेको छ।
समितिको सदस्यमा वडा ११ का अध्यक्ष मोहन बाँस्तोला, वडा २६ का अध्यक्ष नारायणप्रसाद बराल, वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा ६ की दलित महिला सदस्य राममाया विक छन्।
केन्द्रदेखि स्थानीय तहसम्म विपक्षी दलबाट निर्वाचित पदाधिकारीलाई सार्वजनिक लेखा समितिको संयोजकको जिम्मेवारी दिइने प्रचलन भएको हुँदा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गुरुङलाई लेखा समितिको जिम्मेवारी सुम्पिएको संयोजक पौडेलले जानकारी दिए।