
झलक्कै हेर्दा टलक्कै टल्क्यो कास्कीको बैदाम ताल
सम्झेर ल्याउँदा बुझेर ल्याउँदा जगतै माया जाल
कल्याण शेरचनले संकलन गरेको गण्डक क्षेत्रको यो लोक गीतको अंश नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले भाका हालेर गाउँदा दर्शक दीर्घाका सुन्नेहरु एक टक भए । उपकुलपति डा. गुरुङले पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार स्थानीय हिमाली साँस्कृतिक परिवारको २२ औँ वार्षिकोत्सवको क्रममा यो गीत सुनाएका हुन् ।
इतिहास र सँस्कृतिका ज्ञाता डा. गुरुङले राष्ट्रको पहिचान त्यसको सँस्कृतिसँग जोडिएको र अडिएको हुने बताउँदै गीतलाई उदहारणको रुपमा प्रस्तुत गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, बायाँबाट दोस्रो ।
गण्डकी क्षेत्रको लोक कला र सँस्कृतिको जर्गेनामा समर्पित रहँदै आएको अग्रणी संस्थाले २२ वर्षको यात्रा तय गरेकोमा बधाई दिएका उपकुलपति गुरुङले लोक सँस्कृतिले लोकमा देश र राष्ट्रियताको पहिचान दिने र त्यसमा स्थानीय जनजीविका तथा संस्कार अटाउने बताए ।
हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक रहेका वरिष्ठ सँस्कृतिविद तथा चलचित्रकर्मी एवम् गीतकार चेतन कार्कीले लोक गीत र कलाका लागि गण्डकी क्षेत्र सुसम्पन्न रहेको बताए ।
सम्पन्न क्षेत्रको हराउने जोखिममा रहेको लोक कला तथा सँस्कृतिको संरक्षणमा काम गरेको संस्थाको जग बसाल्न तथा संरक्षकत्वको भूमिकामा रहन पाउनु आफ्ना लागि ठूलो कुरा रहेको बताए ।

हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचन
गण्डकी क्षेत्रको लोक लयसँग नेपाली सुगम संगीतका अजर अमर संगीतकार गोपाल योञ्जन परिचित भएको प्रशंग उप्काउँदै संस्कृतिकर्मी कार्कीले गण्डक क्षेत्रको लोक कला तथा सँस्कृतिले यो क्षेत्रलाई मात्रै नभएर समग्र राष्ट्रिय पहिचानलाई उचो बनाएको बताए ।
परिवारका अर्का संरक्षक तथा संस्थापक नरबहादुर शेरचनको अथक प्रयास र लगावले हिमाली साँस्कृतिक परिवार अहिलेको अवस्थामा आएको उनले बताए ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गरुङले सबैको साथ र सहयोगले आफ्नो कला तथा सँस्कृति संरक्षणको यात्रा गर्न सकिएको बताए ।
आउँदा दिनमा पनि सबैको साथ र सहयोग रहेमा लोक कला तथा सँस्कृति संरक्षणका लागि आफूहरुका तर्फबाट भएको प्रयासले निरन्तरता पाउने उनको भनाई छ ।
कार्यक्रममा दानबहादुर गरुङलाई हिमाली साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष रुपेनबाबु थापको स्मृतिमा स्थापना गरिएको पुरस्कार प्रदान गर्यो ।
१० हजार राशीको पुरस्कार पाएका दानबहादुरले दुई हजार थप गरी हिमाली साँस्कृतिक परिवारको उत्थानका लागि खर्च गर्न भन्दै पाएको पुरस्कार रकम समर्पण गरे ।
यस्तै यो वर्षको नर चेतन सम्मान गायक क्षेत्र गुरुङलाई प्रदान गरियो । उनले पनि २५ हजार राशीको सम्मानमा पाँच हजार थप गरी ३० हजार बनाई हिमाली साँस्कृतिक परिवारको लोक कला तथा सँस्कृति जगेर्नाको अभियानका लागि समर्पण गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सात हातको सेतो फेटा लगाइ सम्मान गरेको परिवारले आफ्ना दुई संरक्षक चेनत कार्की र नरबहादुर शेरचनलाई ९ हातको सेतो फेटा लगाएर सम्मानित गर्यो ।
हिमाली साँस्कृतिक परिवारका कलाकारको विविध प्रस्तुतिसहितको कार्यक्रममा कला तथा सँस्कृति क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।