
काठमाडौँ– सन् २०१२ की मिस नेपाल इन्टरनेसनल सुवेक्षा खड्का अब चलचित्रत्रमा देखिँदैछिन्। माघ १८ गते चलचित्र ‘रणवीर’ देशभर प्रदर्शन हुँदैछ। रणवीरमा सुवेक्षा लिड रोलमा छिन्, मिस नेपाल इन्टरनेसनल बनेको ६ वर्षमा उनी चलचित्रको पर्दामा देखिने भएकी हुन्, ‘यो चलचित्रमा मलाई काम गर्न मन लाग्यो।’
टेलिभिजनको पर्दामा सुवेक्षा नयाँ नाम अनि अनुहार होइन। मिस नेपाल इन्टरनेसनलपछि उनी मिडियाकर्मी भएर काम गरिरहेकी छन्। बिभिन्न कार्यक्रममा उद्घोषण गर्छिन्, इसियस कम्पनीको ब्राण्ड एम्बासिडर भएर पनि उनले काम गरिरहेकी छन्। कान्तिपुर टेलिभिजनमा उनको कामको अनुभव दुई वर्षको भइसकेको छ।
मिडियामा राम्रो दखलका साथ काम गरिरहेकी सुवेक्षा कसरी आइपुगिन् रणवीरमा? यसको कहानी सुवेक्षाले लामो सास फेरेर भनिन्, ‘मलाई मिस नेपाल इन्टरनेसनल भइसकेपछि धेरैओटा चलचित्रको अफर आएको थियो, धेरै ओटा स्क्रिप्ट पढेँ तर के मिलेन के। मलाई लागिसकेको थियो मैले चलचित्रमा काम गर्दिन होला। आफूलाई काम गरौँ जस्तो उत्साह नै आएन र मैले कुनै पनि प्रोजेक्टमा जोडिने निर्णय गरिन।’
‘रणवीरसँग जोडिएको कहानी रोचक छ। म भारत जान एयरपोर्ट गएको थिएँ, तर फ्लाईट क्यान्सिल भयो। म दिक्क मानेर उभिएकी थिए, मोबाइलमा घण्टी बज्यो।’
नयाँ प्रोजेक्टको लागि भेटौँ भन्नुभयो, मैले खालि समय न हो ‘हुन्छ’ भने। त्यसपछि कुरा गर्दै जाँदा मलाई चलचित्रमा काम गर्न मन लाग्यो। अनि म जोडिएँ।’
सुवेक्षा भाग्यमा विश्वास गर्छिन्। उनलाई भाग्यले नै यहाँ पुर्याएको हो। धेरैले प्रश्न गर्छन्, रणवीरमा किन आवद्ध भयौ, उनलाई कथामा आफूलाई दिइएको पात्र नै प्रमुख कारण हो जस्तो लाग्छ। उनी भन्छिन्, ‘चलचित्र ग्ल्यामरस क्षेत्र हो, यो चलचित्रमा मेरो पात्र काठमाडौँको पढेलेखेको केटी, रमाइलो गर्नुपर्ने खालको अनि सामाजिक सेवामा रमाउने छ। म सधैँ चाहन्थे मैले पहिलो पटक काम गरेको चलचित्रमा राम्रो पात्र बनौँ, मेरो पात्र सकारात्मक छ, त्यसैले म रणवीरमा आएँ।’
‘सोचेजस्तो सजिलो हुन्न रहेछ,’ सुवेक्षा भन्छिन्, ‘टेलिभिजनमा मैले मेरो अनुहार अनि बोलाइको प्रस्टतामा ध्यान दिए पुग्थ्यो तर चलचित्रमा काम गर्दा धेरै मेहनत गर्नुपर्ने रहेछ। पहिरन, लुक्स अनि म फ्रेस देखिनुपर्ने रहेछ।’ उनलाई यो टिमकै मेहनत भन्नेमा दुईमत छैन।
सुवेक्षा मिडिया क्षेत्रसँग परिचित भएपनि चलचित्र क्षेत्र उनलाई फरक अनुभूति भयो। ‘काममा धेरै व्यस्त हुनुपर्ने रहेछ। मैले कतिओटा कमिटमेन्ट गरेका काम पनि चलचित्रको लागि छोड्नुपर्यो।’
नियमित गरिने धेरै कामहरु छोड्नुपरे पनि उनलाई रणवीरले धेरै खुसी बनाएको छ। ‘नरेश पौडेल, टिका पहारी जस्ता प्रसिद्ध व्यक्तित्वहरुसँग काम गर्न पाएको छु,’ उनी भन्छिन्, ‘समय व्यवस्थापन गर्नको लागि गाह्रो भएपनि जसरी तसरी सकियो, धेरै काम सिकियो।’
रणवीरको सुटिङ सुरु भएपछि उनी अझै व्यस्त भएकी छन्। नियमित गर्ने काम अनि त्यसमा चलचित्रको लागि समय मिलाउँदा मिलाउँदा धपेडी होला जस्तो भइसकेको छ। अहिलेसम्म आफ्नो कामबाट दर्शकको माया पाएकी सुवेक्षालाई रणवीरबाट पनि राम्रो अपेक्षा छ।