
अमेरिकी सिनेटले नयाँ बजेट सम्बन्धी विधेयकले पक्षमा मत दिएपछि बन्द भएका सरकारी कामकाज सुचारु भएका छन् ।
रिपब्लिकन तथा डेमोक्र्याटिक सिनेटरले संघीय निकायलाई तत्कालका लागि खर्च उपलब्ध गराउने सम्बन्धी विधेयकको पक्षमा मत दिएपछि आंशिक रुपमा बन्द भएको सरकारी कामकाज पूर्ण रुपले सुचारु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकनले बालबालिकाको रुपमा अमेरिका प्रवेश गरेका र अहिले वयस्क भएका आप्रवासीलाई अमेरिकामै रहन दिने पक्षमा उभिने प्रतिब्दता जनाएपछि आफूहरुले विधेयकको पक्षमा मत दिएको डेमोक्र्याट सिनेटर चक स्चुमरले बताए ।
यस्तै बाराक ओबामाको कार्यकालका बेला लागु भएको स्वास्थ्य सम्बन्धी नियम लागु हुने प्रतिबद्धताको माग गर्दै डेमोक्र्याटले विधेयकको पक्षमा मत दिएका थिएनन् ।
नयाँ बजेट सम्बन्धी विधेयक सिनेटमा असफल हुँदा अमेरिकाका संघीय निकाय शनिबार बिहानैदेखि बन्द भएका छन् । सिनेटमा प्रस्तुत भएको संघीय सरकारलाई आउँदो फेब्रुअरी १६ सम्म कार्यसञ्चालन खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक शुक्रबार पारित हुन नसक्दा सरकारी कामकाज ठप्प भएको थियो ।
विधेयक असफल भएपछि आरोप प्रत्यारोपका बिच सिनेटरले सहमतिको प्रयास भएको थियो । संघीय सरकारलाई कार्यसञ्चालनका लागि प्रदान गरिने सम्बन्धी विधेयक सिनेटबाट पास हुनका लागि ६० मत आवश्यक थियो । तर शुक्रबार डेमोक्र्याटिक सिनेटरले विधेयक पास हुन दिएनन् ।
कंग्रेस र ह्वाइट हाउसमा एउटै पार्टीको नेतृत्व रहेका बेला सरकारी कामकाज ठप्प भएको आधुनिक अमेरिकाको इतिहासमा यो पहिलो पटक थियो ।
यसअघि पछिल्लो पटक सन् २०१३ मा अमेरिकी सरकारको कामकाज ठप्प भएको थियो । तर त्यसबेला ह्वाइट हाउसमा डेमोक्र्याटिक तथा सिनेटमा रिपब्लिकनको नियन्त्रण थियो ।
सम्बन्धित समाचारहरु…