दाङ – यही माघ २४ गते हुने राष्ट्रिय सभा चुनावका लागि प्रकाशन गरिएको प्रदेश नम्बर ५ को मतदाता नामावलीमा कसैको दाबी विरोध परेको छैन ।
दाबी विरोधको समय सकिएको र यस बिचमा कसैको दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृत हमेन्त रावलले बताए ।
राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको नामावली प्रकाशनसँगै चुनावको तयारी अगाडि बढेको हो ।
मतदाताको नामावली प्रदेशगत रुपमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशन भएको हो । प्रदेश नम्बर पाँचमा ३ सय ५ जनाको मतदाता नामावली प्रकाशन भएको छ ।
प्रदेश नम्बर पाँचमा दुई सय १८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । ८७ जना प्रदेश सभाका सदस्य रहेका छन् । मतदानको लागि दुई वटा मतदान केन्द्र तोकिने भएको छ ।
एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी ११ जनाको टिम हुने भएका छन् । माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।
माघ १० गते नै उम्मेदवारको मनोनयन पत्र दर्ता सँगै दिउँसो चार बजेदेखि पाँच बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गर्ने, ११ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, १३ गते मनोनयन पत्र र उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै माघ १४ गते एक बजेदेखि २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन चाहेमा लिन सकिने समय तोकिएको छ ।