
दाङ–बिरामीको चापले डाक्टरलाई भेट्नै मुस्किल पर्थ्यो । वार्डमा बिरामी खचाखच हुन्थे । सुत्केरी सेवाको लागि त्यस्तै भीडभाड । तर, अहिले एक सय वेड रहेको अस्पतालमा जम्मा १२ जना बिरामी भर्ना छन् ।
सुत्केरी वार्ड खाली छ । अस्पताल भित्रको फोहर नउठेको पनि धेरै भयो । नाक थुनेर भित्र पस्नुपर्छ । बाहिर रुखमुनि कालो ब्यानर टाँगिएको छ । त्यही कालो ब्यानर मुनि कर्मचारी घाम तापेर बसेका हुन्छन् । उपचारको लागि बिरामीको निकै भीड हुने राप्ती उपक्षेत्रीय अस्पताल हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शुनसान छ ।

आन्दोलनका कारण सरसफाई समेत नभएपछि अस्पताल दुर्गन्धित भएको छ।
आन्दोलनमा रहेका कर्मचारीको समस्या प्रतिष्ठानले सम्बोधन गरेको छैन । कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलनका कारण बिरामीले स्वास्थ्य सेवा उपभोग गर्न पाएका छैनन् । कर्मचारीहरुले सेवा सुविधा र पेशागत सुरक्षाको माग राख्दै आन्दोलन थालेका हुन् । तलब र पेशागत सुरक्षाको माग गर्दै गत साउनदेखि आन्दोलन गरे पनि प्रशासनले सम्बोधन नगरेको भन्दै कर्मचारीहरु माघ २ गतेदेखि सशक्त आन्दोलन सुरु गरेका हुन् ।

काम छोडेर घाम तापेर बसेका स्वास्थ्यकर्मी र कर्मचारीहरु । आन्दोलनका कारण उपचार नपाउँदा बिरामीको बिचल्ली भएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेलले समस्या समाधानको लागि पटक पटक वार्ता गरिए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘तीन पटक सम्म त सिडियो कार्यालयमा बार्ता भयो । तर, सहमति हुन सकेन’उनले भने–‘अब मन्त्रालयबाट टोली आउने भन्ने सुनेका छौँ । समाधान निस्कन्छ कि ?’
प्रतिष्ठानले काममा लापवार्ही गरेको भन्दै तीनजना कर्मचारीलाई निस्कासन गरेको छ । आन्दोलित कर्माचारीले निस्कासनमा परेका कर्माचारीलाई पनि पुनर्बहालीको अडान राखेपछि निस्कर्षमा पुग्न नसकिएको बताइएको छ ।