
पोखरा-विद्यार्थी रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आन्दोलन घोषणा गरेको छ। आन्दोलन अन्तर्गत बुधबार कास्की जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ। माघ २३ गतेदेखि २५ गतेसम्म विभिन्न चरणको आन्दोलको कार्यक्रमहरु घोषणा गरेको हो।
सरकारविरुद्ध आन्दोलनमा उत्रेका नेविसंघका-४ नेता मंगलबार पोखरामा पक्राउ परेर छुटेपछि उनीहरुले थप आन्दोलन घोषणा गरेका हुन्। नेविसंघका केन्द्रीय सदस्य भानु ढकालसहित नेता विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट पक्राउ परेका थिए। उनीहरुलाई प्रहरीले ४ घन्टापछि छाडेको थियो।
केन्द्रीय सदस्य ढकालका अनुसार बुधबार २३ गते अनिश्चिकालीन रुपमा सरकारी गाडी जिल्लाभर चल्न नदिने कार्यक्रम छ। बिहान ८ बजेदेखि देखि १० बजेसम्म जिल्लाभरका क्याम्पस अगाडि चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए।
बिहीबार २४ पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने, २५ गते शुक्रबार कालो पट्टी बाँधेर धर्ना दिने लगायतका कार्यक्रम छ।
माग सुनुवाई नभए अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ। विज्ञप्तिमा नेविसंघका ३ केन्द्रीय सदस्य भानु ढकाल, गोपाल गुरुङ र देवकृष्ण पराजुलीले हस्ताक्षर गरेका छन्।
सार्वजनिक बिदाका दिन चलाइएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो। त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले उपद्रव मुद्दा अदालतमा दायर गरेको छ।