
दाङ–कर्मचारी बर्खास्तीबाट सुरु भएको विवादले अस्तव्यस्त बन्न पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या बुझ्न केन्द्रबाट आएको टोलीले विवाद समाधानको लागि छलफल थालेको छ । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको नेतृत्वमा यहाँ आएको अध्ययन टोलीले समाधानको पहल थालेको हो ।
डा. यादवको नेतृत्वमा विशिष्ठ श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईको टोलीले सबै सरोकारवाला पक्षसँग जानकारी लिन सुरु गरेको हो ।
तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएदेखि नै कर्मचारी आन्दोलनले उपचार सेवा प्रभावित हुँदै आएको छ । टोलीले प्रतिष्ठानका पदाधिकारी, आन्दोलित कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित घोराही उपमहानगरपालिकाका प्रमुख, प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरुसँग विवादका विषयमा जानकारी लिएको छ ।
कर्मचारीहरुको आन्दोलन किन उत्पन्न भयो? उपचार सेवा किन रोकियो? कर्मचारीका मागहरु केके हुन? प्रतिष्ठानको ऐनमा के छ र सरोकारवालाहरुले गर्ने समन्वय के हुन्छन् भन्ने बारेमा राज्यमन्त्री यादवको टोलीले जानकारी लिएको छ ।
पुस ३० गते देखि काम रोकेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन् । करिब ८० जना कर्मचारीहरु काम छोडेर प्रतिष्ठानमै धर्नामा बसेपछि प्रसुती सेवा ठप्प छ भने अस्पताल दुर्गन्धित बनेको छ ।