
दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गत पुस ३० गतेदेखि कामकाज छोडेर आन्दोलनमा उत्रिएका कर्मचारीबीच शुक्रबार ११ बुँदे सहमति भएको छ।
साविकको उपक्षेत्रीय अस्पतालमा कार्यरत कर्मचारी प्रतिष्ठानको मातहतमा समायोजन गर्ने, भुक्तानी गर्न बाँकी तलब भुक्तानी गर्ने, निष्कासनमा परेका कर्मचारीको करार अवधि थप गर्ने सहमति भएको छ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले आन्दोलनरत कर्मचारी र प्रतिष्ठानबीच सहमति गराएको हो।
राज्यमन्त्री यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विषेशज्ञ सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव बिनोदकुमार भट्टराई टोलीमा छन्।
सहमतिमा साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई प्रतिष्ठानको प्रचलित कानुन बमोजिम शर्त, बन्देज र सेवा सुविधा लागु हुनेगरी प्रतिष्ठानको समानान्तर तहको पदमा समायोजन गर्ने उल्लेख छ।
यस्तै विकास समितिको तर्फबाट कर्मचारीलाई भुक्तान गर्न बाँकी तलब तत्काल भुक्तानी गर्न प्रतिष्ठानले व्यवस्था मिलाउने लगायतका ११ बुँदा उल्लेख गरिएको छ।