
अमेरिकाको केन्टुकी राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको छ । घटनामा अरु १७ जना घाइते भएका छन् ।
१५ वर्षका छात्रले विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ तर परिचयभ ने खुलाएको छैन ।
बेनटन शहरको मार्शाल काउन्टी हाइस्कूलमा भएको गोलीकाण्डमा गोली लागेर १५ वर्षकी छात्राको घटनास्थलमै ज्यान गएको केन्टुकीका गभर्नरले बताएका छन् ।
यस्तै १५ वर्षकै अर्का एक छात्रको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजे गोलीकाण्ड भएको हो ।
घटनाको १५ मिनेटभित्र गोली चलाउने छात्रलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । कक्षा सुरु हुनु पूर्व त्यहि विद्यालयमा पढ्ने छात्रले ह्याण्डगन मार्फत अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।