
अर्जेन्टाइनी डिफेन्डर जावियर मास्चेरानोले स्पेनिस ला लिगा क्लब बार्सिलोना छोड्ने भएका छन् । क्याटलान क्लब बार्सिलोनामा झण्डै ८ वर्ष बिताएका ३३ वर्षे मास्चेरानो अबर चाइनिज सुपर लिग क्लब हेबेइ चाइना फरच्युन जाने सम्भावना छ ।
मास्चेरानो सन् २०१० मा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट १७ मिलियन पाउण्डमा बार्सिलोना आएका हुन् । मास्चेरानोले नाउ क्याम्पमा ८ वर्षको अवधिमा १८ उपाधि जितेका छन् । त्यसमा चारपटक ला लिगा तथा दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि पनि रहेको छ ।
बार्सिलोनाबाट ३३४ खेल खेलेका मास्चेरानोले एक गोल मात्रै गरेका छन् । उनले यो सिजन बार्सिलोनाबाट मात्रै १२ खेल खेलेका छन् । उनलाई क्लबले बुधबार औपचारिक बिदाइ गर्नेछ ।
उनको अन्तिम खेल बिहीबार राति कोपा डेल रेको दोस्रो लेग हुनेछ । उनले त्यहाँ समर्थकसँग बिदा माग्ने छन् । उनी अर्जेन्टिनाको टिममा छन् र उनले आउँदो विश्वकपमा पनि खेल्ने सम्भावना छ । उनले सन् २०१४ को विश्वकपमा पनि खेलेका थिए ।