
काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार उम्मेदवारले मनोनयन दर्ता गर्दै छन् । राष्ट्रिय सभाका ५६ सिटका लागि उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले गएको पुस २९ गते नै सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ र डोटीका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुँदैछ । उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकेको र मनोनयन दर्ताका लागि आयोगका तर्फबाट गर्नु पर्ने सबै तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मनोनयन दर्ता सकिएपछि निर्वाचन कार्यालयले बेलुका ५ बजेसम्म उम्मेदवार दर्ता सूचि प्रकाशन गर्ने कार्यतालिका छ ।
राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ ।
माघ १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै माघ १५ गते दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ ।
माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । हरेक प्रदेशबाट महिला ३ जना, दलित १ जना, अपाङ्गता तथा अल्पसंख्यक मध्येबाट १ जना तथा अन्य ३ जना सहित ८/८ जना गरी ५६ जना निर्वाचित हुनेछन् ।
राष्ट्रपतिबाट मनोनित ३ जना सहित ५९ जनाको राष्ट्रिय सभा बन्नेछ । राष्ट्रिय सभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुख गरी २०५६ जना मतदाता छन् ।