
पोखरा – लेकसाइडस्थित १४ वर्षीय सचिन सिञ्जालीको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय कुमार गर्बुजा पक्राउ परेका छन्। सिञ्जालीको हत्यामा संलग्न भएको आरोपमा पर्वत घर भएका गर्बुजालाई मंगलबार जिल्ला प्रहरी कास्कीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो।
पक्राउ परेका गर्बुजा बेवारिसे अवस्थामा सकडमै रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख एवं एसपी ओम रानाले जानकारी दिए।
पाल्पा स्थायी घर भई लेकसाइड बस्दै आएका १४ वर्षीय सिञ्जालीको लेकसाइडमै एक निर्माणाधीन घर भित्र गएराति हत्या भएको थियो। उनको घाँटी, पेट र ढाडको विभिन्न ठाउँमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
एक युवतीको विषयमा विवाद हुँदा सिञ्जालीको हत्या गरेको गर्बुजाले प्रहरीको प्रारम्भिक बयानमा उल्लेख गरेका छन्। पक्राउ परेका गर्बुजा यसअघि चोरीको आरोपमा १५ महीना जेल सजाय भोगिसकेको प्रहरीले जानकारी दिएको छ।