
प्रीय लेखक
धेरै धेरै सम्झना। कहाँ छौ, कस्तो छौ न कुनै खबर छ, न कुनै म्यासेज नै। न तिमी सामाजिक संजालमा नै भेटिन्छौ, न फोन सम्पर्कमा। कुनैदिन तिमिलाई कल गरेको कल हिस्ट्रि हेर्यो भने नेपाल टेलिकमले पनि धेरै कल नगर्नुहोस् भनेर वार्निङ देला भन्ने डर लागिसक्यो मलाई।
तिम्रो खबर नपाउदा मन साह्रै व्यथित हुनथालेको छ । छट्पटीन थालेको छ । केही छुटे जस्तो, कतै हराएको जस्तो आभास हुनथालेको छ । साच्चै के कुराले होला जसले मलाई यत्ती धेरै सताएको छ।
सम्बन्धको कुरा गरौं भने हामि बिच त्यस्तो सम्बन्ध पनि केही थिएन, तिमी राम्रो लेखक अनि म फगत पाठक मात्र। हामीबिचको चिनजान छोटो समयको भए पनि निकै आत्मिय र मिठो थियो । यसमा हामी निकै कम पटक मात्र भेट्यौ होला, तर हाम्रा भेटेहरु निकै सान्दर्भिक हुने गर्थे कहिले हासो रोक्न नसकिने कुरा त कहिले जीन्दगीको गहिराईमा डुब्ने वार्तालाप।
हाम्रो भेट अक्सर तिनकुनेको सानो चियापसल हुन्थ्यो।जहाँ बसेर हामी लेमनसहितको मिठो चिया पिउथेयौ, जिन्दगीका बात मार्थ्यौ। बजारमा निक्लेका नयाँ पुस्तकका बारेमा कुराकानि गथ्र्यौ।
साच्चै ! साह्रै रमाइला थिए ती दिनहरु। त्यहिमाथि म चिया मात्र पिउथे तिमी चियासँगै सूर्य चुरोट पनि । भेट छोटो समयको भएपनि हामी बिच धेरै कुरा हुन्थे। त्यतिबेला त म फगत पाठक मात्र थिए, अहिले पनि कहाँ लेखक भैसकेकी छु र, तिमिजती राम्रो लेख्न र लेखक बन्न त म यो जुनिमा त के सकौला र खै । तिम्रो झुटो तारिफ गरेकी हैन मैले, साँच्चै तिमी राम्रो लेख्थ्यौ र लेख्छौ ।
तर आजभोलि धेरै भयो मैले तिम्रा फुट्कर लेखहरु पढ्न पाएकी छैन। तिमी नेपाली साहित्यलाई मान्छेहरुले नबुझेको देखेर फ्रस्टेट हुन्थ्यौ र भन्थ्यौ ‘म लेख्दिन अब’ अनि म भन्थे ‘हैन लेख्नुपर्छ तिमिले तिमी जतिको लेखकले। कतै तिमीले लेख्न त छोडेका छैनौ नि त्यसो नगरे है तिमी।’
तिमी साह्रै गहिरिएर लेख्थ्यौ पढ्दा आन्नद लाग्ने। एक साझ यस्तै सात बजेको थियो।आकाशको जुनसँग कुरा गर्दै मैले भनेकी थिए ‘कति प्यारो र राम्रो छ जुन अनि मायालु पनि, कहिलेकाहिँ त लाग्छ त्यो जुन मात्र होला मलाई साचो माया गर्ने’, अनि तिमिले हाँस्दै भनेका थियौ ‘जुनले त सबैलाई माया गर्छ, अनि सबैले जुनलाई माया गर्छन। प्यारी तिमी यस्तो व्यक्ति खोज जसले तिमिलाई मात्र तिमिलाई माया गरोस्।’ त्यतिबेला म सोचेकी सोचेइ भएकी थिए, हराए कि थिए कतै। तिमिसँगका प्रेत्यक भेटमा मैले केही नयाँ सिकिरहेकी हुन्थे सायद त्यसैले पनि होला तिम्रो सामीप्यता यत्ती प्यारो लागेको मलाई ।
हामी बिचको सामीप्यता यति धेरै बढेको थियो कि म तिमीसामु सहजै हास्न सक्थे, सहजै रुन सक्थे साच्चै के कुराले यति धेरै नजिक बनाएको होला हामिलाई। आज म आफैलाइ प्रश्न गर्छु तर जवाफमा शून्य शिवाय केही हात लाग्दैन। बस तिमीसँगका ती बातहरु बेलाबेलामा मीठो झझल्को बनेर आईदिन्छ्न् अनि त्यही झझल्को मेटाउन भएपनी तिमिलार्इ यसरी यो पत्र लेखेकी । यो पत्र तिमिले पर्थ्यौ भने कति खुशी हुन्थ्यौ होला भन्थेयौ होला “वा ! यमुना तिमी त कति राम्रो लेख्न थालिछौ। अझ खेलाउ शब्दलाई अझ राम्रो बन्छन् शब्दहरु” अनि म भन्थे होला “म जस्तै राम्रो” फेरि तिमी हाँस्थ्यौ होला तिमी सधै यहि त चाहन्थेयौ कि म शब्दसंग खेलु, शब्दसंग सान्निध्यता बढाउ र यिनै भित्र हराउन सिकु।
म केही सन्तुष्ट छु आज मैले तिम्रो सपना थोरै भए पनि पूरा गर्दै छु, शब्द खेलाउन सिक्दैछु र यिनैसंग रमाउन सिक्दैछु। तिमिबाट मलैले कल्पना गर्न सिके, सपना देख्न सिके। तिम्रो सपनाको दुनियामा केहि पल भए पनि घुमे रमाए। बस आज ति पलहरु मेरा स्मृतिमा मात्र छन्। तरपनि तिमि सँग प्रश्न भन्दा बढी गुनासो छ किन हराएयौ यसरी?
यो प्रेम भन्ने शब्द नै मलाई अचमको लाग्छ। अझ भनौ यो शब्द प्रेमी प्रेमिका बिचको सम्बन्धको लागि मात्र जरुरी छ । मलाई लाग्दैन यस्तो न त्यतिबेला नै त्यस्तो लाग्थ्यो।हो म मान्छु म तिम्रो नजिक थिए तर मैले सधै तिमिलाई सम्मान पूर्बक हेरे सम्मान गरे र गरिरहने छु किनकी तिमी मेरो प्रेरणा थियौ र हौ।जब जब म होतोसाहित्त हुन्थे तिमि मलाइ प्रेमले सम्झाउथेयौ, ममा हौसला भर्थेयौ । भनौ भने तिमी मेरो अभिभावक भन्दा कम थिएनौ। तिमिसंग म प्रेमिका जस्तै रिसाउन सक्थे बच्चा जस्तै हठ गर्न सक्थे त्यसैले त तिमी मेरो नमेटिने याद हौ ।
अझ धेरै कुरा छन् तिमीलाई भन्न तर सबै कुरा यति सानो पत्रमा, थोरै शब्दमा अभिव्यक्त नहुने रहेछन् तर केहिभने अवश्य अभिव्यक्ति गरेकि छु। सबै कुरा अटाउछु जस्तो लागे पनि नसकिने रहेछ।
थाहा छैन अब तिमीसंग फेरि भेट हुन्छ कि हुन्न चाहना त तिमिसँग फेरि भेट होस् भन्ने छ। तर समयमाथि नै विश्वास छैन मलाई किनकि यहि समय त हो ।
हामीलाई नजिक ल्याउने अनि टाढा बनाउने पनि त्यसैले तिमी जहाँ छौ जस्तो छौ आफ्नो ख्याल राख्नु, रमाउनु, खुशी हुनु र अन्तमा ‘भ्यालेन्टाइन्स डे’ को तिमिलाई धेरै धेरै शुभकामना।
उहि तिम्री प्रिय पाठक
यमुना थापा