
दाङ– राजाराम चौधरीको उमेर ७४ वर्ष भयो। उनलाई ढाड दुख्ने, खुट्टा झमझमाउने समस्याले सताएको छ। उपचारको लागी धेरै अस्पताल चाहारे पनि निको भएन।
अहिले उपचारको लागि शिविरको भर परेका छन्। ‘दशा लाग्यो। अस्पताल पुगेर उपचार गर्दा सम्पत्ति सकियो’, उनले भने, ‘अब अन्तिम आशा शिविरै हो। निको हुन दगुरा दगुर गरियो, खै निको हुन्छ की नाई?’
राजाराम मात्रै होइन, उनकी श्रीमती कैलाशीलाई पनि रोगले सताएको छ। बुढेसकालमा उपचारको लागि दुबै जनाले उपचारको लागि अहिले शिविर धाउँदै छन्। ‘पैसा हुँदासम्म अस्पताल पुगेँ, पैसा सकियो तर निको भएन’, उनले भनिन्, ‘शिविरको उपचारले निको हुन्छ की भन्ने आश छ।’
हिरापती यादव र उनका छोरा झबिन्द्रले राम्ररी कान सुन्दैनन्। यसको उपचारका लागि आमाछोरा गाउँमा आएका डाक्टरलाई देखाउन शिविरमा पुगे। यसअघि लमही पुगेर उपचार गरेपनि निको नभएको हिरापतीले बताइन। ‘अस्पतालको औषधी खाएँ, सञ्चो भएन’, उनले भनिन्, ‘शिविरमा उपचार गरे निको हुन्छ कि भनेर देखाउन आएकी हुँ।’
गाउँघरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आउनेमा अस्पतालबाट उपचार गराएर निको नभएका बिरामीनै धेरै भएको पाइएको छ। गढवा गाउँपालिका वडा नं.४ रामनगरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारको लागि पुग्ने अधिकांश बिरामी अस्पतालमा उपचार गरेर थाकेका बिरामी भएको पाईएको छ।
सिड अस्पताल लमही, ज्योतिषमती विद्यापिठ लमही र शक्ति उपभोक्ता सहकारी संस्थाको संयुक्त आयोजनामा भएको शिविरमा बिषेशज्ञ सेवा लिने बिरामीहरु आएका थिए।
स्त्री तथा महिला रोग, छाला तथा यौन रोग, मुटु, मृगौला सम्वन्धि समस्या भएका बिरामीले सेवा लिएका सिड फाउण्डेसनका अध्यक्ष डाक्टर मधुसुदन घिमिरेले जानकारी दिए। ‘उपचारमा आउने मध्य धेरै महिला छन्। यसबाट के थाहा हुन्छ भने ग्रामिण भेगका महिला स्वास्थ्य समस्या पालेर बसेका छन्’, उनले भने, ‘स्वास्थ्य सम्बन्धि समस्या घटाउँदै उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शिविरबाट समस्याको पहिचान हुने र थप उपचारको लागी स्वास्थ्य संस्था सम्म जाने वातावरण निर्माण हुन्छ।’
निःशुल्क शिविरको उद्घाटन गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने बताए। शर्माले चिकित्सा क्षेत्रले धेरै फड्को मारेको भन्दै उनले रोग पालेर बस्न नहुने बताए।
‘सन्तुलित भोजन, शारीरिक व्यायामबाट स्वस्थ रहन सकिन्छ’, उनले भने, ‘पहिला हाम्रा बाउ, बाजेको मृत्यु भयो तर हामीले के कारणले उनीहरुको मृत्यु भयो भनेर रोग थाहा पाउन सकेनौं। काल गतिले बिते भनेर भन्यौं तर अहिले त्यस्तो छैन्। के कारणले मृत्यु हुन्छ सबै थाहा हुन्छ। रोगको उपचार हुन्छ, समयमा उपचार भए बाच्न सकिन्छ।’