
पोखरा- संगीतमार्फत पनि समाजलाई सत्यपथमा डोर्याउन सकिन्छ भन्ने अठोटका साथ गीतसंगीतको साधन गरिरहेको सत्याकृत ब्यान्डले पोखरामा महाशिवरात्रिमा सांगीतिक कार्यक्रम गर्ने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सत्याकृत फाउण्डेसनका अध्यक्ष विजय गौतमले फागुन २० गते महाशिवरात्रिको दिन पोखराको हल्लनचोकमा ब्यान्डले सांगीतिक कार्यक्रमको आयोजना गरेको जानकारी दिए।
‘गत वर्ष जस्तै वैदिक भजनकृतन सहितको सांगीतिक कार्यक्रम आयोजन गर्दै छौं,’ उनले भने, ‘ब्यान्डको स्थापना समयदेखि नै मौलिक परम्परा, संस्कृति तथा वैदिक मूल्यमान्यताहरुलाई संरक्षण गर्दै समाजमा शान्ति सद्भाव कायम राख्ने उद्देश्य सहित यस वर्ष पनि शिवरात्रिको दिन सांगीतिक प्रस्तुती राख्दै छौं ।’
रक संगीत सुन्नासाथ नशा र मदिरा बुझ्ने हालको परिप्रेक्ष्यमा सुसभ्य शब्द सहितको भजनलाई फ्युजन गरी बनाइएको ‘रक भजन’ प्रस्तुत गरिने उनले सुनाए। ‘आध्यात्मिक सचेतना र धार्मिक सम्पूर्णता फाउण्डेसनको जग हो। त्यस्ता विकृत पक्षहरुलाई नास्नका लागि वैदिक संस्कृति मार्फत सिर्जित संगीत रचनालाई समाजका निम्ति पस्कन ब्यान्डको अभियान हो,’ उनले थपे।
सकारात्मक भाव सहितका शब्द संयोजन गरी पुर्वेली तथा पश्चिमेली शैलीका लय, सुर र वाद्यवादनको समिश्रित प्रतित सत्याकृत ब्यान्डले उजागर गर्दै आइरहेको अध्यक्ष गौतमको भनाइ थियो।
नेपाल बाहिर अस्ट्रेलिया, दुबई, दार्जिलिङ सहितका स्थानमा ब्यान्डले आफ्नो सांगीतिक यात्रा सम्पन्न गरिसकेको छ। नेपालभित्र मुख्य सहर लगायत खाडीचौर, चरिकोट समेतका स्थानमा आफूलाई परिचित गराउन सफल भएको छ।
महाशिवरात्रिको दिन साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गर्ने ब्यान्डले जानकारी दिएको छ।