
काठमाडौँ – स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने माग गर्दै संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि मंगलबारको प्रनिधिसभा बैठकमा छलफल भइरहेको छ ।
सांसद खगराज अधिकारीले दर्ता गरेको प्रस्तावमा स्वास्थ्य बिमा ऐन अन्तर्गतका कार्यक्रमलाई देशव्यापी रुपमा लागु गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गर्नु पर्ने उल्लेख छ ।
सातै प्रदेशमा आकश्मिक सेवा, आसियुसहितका पूर्ण क्षमताका अस्पताल सञ्चालन गरि नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाह गर्नु पर्ने उल्लेख गरिएको छ । यसका लागि चाहिने कानुन, नियम र निर्देशिका बनाई लागु गर्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
अहिले लागु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन माग गरिएको हो । प्रस्तावमा अन्जना विशंखे र मनकुमारी जिसीले समर्थन गरेका छन् ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पुष्पा भुसालले दीगो विकास लक्ष्य पूरा गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम महत्वपूर्ण माध्यम बन्ने भएकाले प्रभावकारी बनाएर कार्यान्वयन गर्नु पर्ने बताइन् । उनले यसका लागि सरकार गम्भीर भएर लाग्नु पर्ने बताइन् ।
यस्तै सांसद रामकुमारी झाँक्रीले स्वास्थ्य सेवा संवेदनशील र नागरिकलाई नभइ नहुने सेवा भएकाले बिमा कार्यक्रम प्रभावकारी बनाउन सरकार कटिबद्ध हुनु पर्ने बताइन् ।
प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र चौधरीले जवाफ दिने र त्यसपछि प्रस्ताव पारित गर्ने कार्यसूचि छ ।