
पोखरा-विद्यार्थी राजनीतिको जगदेखि संघीय सरकारको पर्यटन मन्त्रीसम्मको यात्रासम्म पुगिसकेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनले पोखरा स्तब्ध जस्तै बनेको छ।
ताप्लेजुङको फुङलिङमा बुधबार मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा उनी सहित ७ जनाको निधन भयो। मन्त्री अधिकारीका बुबा आमा पोखराबाट काठमाडौं पुगिसकेका छन्। पोखराका उद्योगी, व्यावसायि, समाजसेवी लगायत सर्वसाधारण समेतले मन्त्री अधिकारीको निधनले समग्र कास्कीकै एक अभिभावक गुमाएको भन्दै सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्।
पश्चिमाञ्चल होटल व्यावसायि संघका अध्यक्ष विकल तुलाचनले देश सञ्चारसँगको सम्पर्कमा मन्त्री अधिकारीको निधनले देशलाई नै अपुरणीय क्षति भएको बताए। ‘पर्यटन क्षेत्रमा केही गर्छु भन्ने मान्छे गुमाउँदाको पीडा व्यक्त गर्न सायदै शब्द छैन्,’ उनले भने, ‘पोखराबासी मात्रै नभई सम्पूर्ण देशभरीका जनताको आशाको धरोहर ढलेको जस्तो भयो।’ पर्यटनसँगै नेपालको उड्डयन क्षेत्रमा सकारात्मक कामको थालनी गर्ने मन्त्री गुमाउँदा आफू र आफ्नो संस्थाले एक असल अभिभावक गुमाएको महशुस भएको उनले बताए।
४ दशक अघिदेखि पोखरेलीले देखेको सपना अन्तर्राष्ट्रिय विमानस्थल मन्त्री अधिकारीकै पहलमा सम्भव भएको न्यूरोड ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रशान्त आचार्यले सुनाए। ‘आम पोखरेलीको सपना पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अगुवाई मन्त्रीज्यूले लिनुभएकै कारण आज निर्माणाधीन छ,’ उनले भने, ‘पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न उहाँको भूमिका अतुलनिय छ। दुरदराजका विमानस्थल सञ्चालन गरेर सर्वसाधारणलाई सेवा दिनुपर्छ भन्ने भावना उहाँकै कार्यकालमा सम्भव हुँदै थियो।’
पोखराको पर्यटन क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न मन्त्री अधिकारीले खेलेको भूमिका गर्व गर्न लायक भएको उनले सुनाए। विमानस्थल निर्माणका क्रममा अनेकौं व्यवधान खडा गरिएपनि स्थानीयसँगको समन्वयमा मन्त्री अधिकारीले मुआब्जा लगायतका काम सम्पन्नको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकै कारण आज सफल परिणाम देख्न पाइरहेको उनको भनाई छ। ‘जहाँजहाँ थितिको जग बसाल्दै जानुभो, तर बिडम्बना त्यसको उपभोग गर्न नपाउँदै छाडेर जानुभो,’ उनले दुखेसो पोखे।
मन्त्री अधिकारी कुशल राजनीतिज्ञसँगै सामाजिक मनोभावना बुझ्न सक्ने सहृदयी व्यक्ति रहेको अनेरास्ववियु जिल्ला क्याम्पस किमिटीका अध्यक्ष विवेक देवकोटाले सुनाए। ‘उहाँकै नेतृत्वमा २०५७ सालमा सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट गराई विद्यार्थी हितमा चालेको कदम इतिहासकै मानक बनेको छ,’ उनले थपे, ‘विद्यार्थीका हकहितको विषयमा निरन्तर आवाज उठाइरहने आदरणीय नेता गुमाउँदा संगठनलाई ठूलो क्षति पुगेको छ।’
विद्यार्थी राजनीतिको आइडल गुमाउँदाको पीडा असह्य भएको भन्दै दुःख मनाउ गरे। ‘हिजो म विद्यार्थी राजनीतिमा आउँदा रवीन्द्रकै योगदानलाई आत्मसात् गरेको हुँ, आज कसैलाई आकर्षण गराउनु छ भने, उहाँकै योगदान बुझाएर आकर्षण बढाएको छु,’ उनले भने। आफू अनेरास्ववियुको कार्यकर्ता भएको नाताले मन्त्री अधिकारी गुमाउनु पर्दा असल अभिभावक गुमाएको महशुस भइरहेको बताए।
पोखरालाई कर्मथलो बनाउँदै आएका राजनीतिकर्मी, उद्योगी लगायत विभिन्न पेशा व्यावसायिकर्मीहरुले मन्त्री अधिकारीको निधनले आम कस्केलीबासीकै आशाको दियो निभेको चित्रण गरेका छन्।