
सुकेटार विमानस्थल (ताप्लेजुङ) – हेलिकप्टर दुर्घटनामा निधन भएका सबै सातजनाको शव दुर्घटनास्थलबाट सुकेटर विमानस्थलमा ल्याइए पनि काठमाडौँ लैजान समस्या भएको छ ।
बिहान केहीबेर मौसम सफा भएर दुर्घटनास्थलबाट सेनासहितको उद्धार टोलीले बाँकी तीनवटा शव सुकेटार विमानस्थल ल्याएको छ । यसअघि बुधबार बेलुका चारजनाको शव ल्याइएको थियो ।
शव ल्याएर सुकेटार विमानस्थलमा काठमाडौँ पठाउन प्याक गरेर राखिएको छ । तर हेलिकप्टरमा राख्न सकिएको छैन । बिहान बाक्लो कुहिरो लागेको थियो भने पानी परेको थियो । अहिले हिउँ परेको छ ।
पूर्वी पहाडमा बिहीबार दिनभर नै मौसम खराब नै रहने मौसमविद मिनकुमार अर्यालले बताए । विशेष गरि ताप्लेजुङसहितको मौसम खराब नै रहने उनले बताए ।
मौसमविद अर्यालले भने, ‘ताप्लेजुङको सुकेटार क्षेत्र मौसमी आधार हिसाबले संवेदनशील क्षेत्र हो । त्यो क्षेत्रको मौसम छिनछिनमा परिवर्तन भइरहन्छ । छिनमै हुस्सु लाग्ने, छिनमै खुल्ने वा पानी पर्ने र हिउँ पर्ने हुन सक्छ ।’
उनले अघि भने, ‘उत्तर पूर्व भएर बादल अघि बढेकाले सुकेटार क्षेत्रको मौसम खराब भएको हो । तुम्लिङटारसहितको तल्लो क्षेत्रको मौसम सफा भए पछि अवस्था हेरेर मात्रै हेलिकप्टर उडाउनु पर्छ।’
शव ल्याउने हेलिकप्टर उड्नका लागि रुटमा पर्ने क्षेत्रको मौसम कस्तो छ भनेर पनि जानकारी लिनु पर्ने उनले सुझाव दिएका छन् ।