
अर्कोपटक पनि यसरी नै सबैसँगै बसेर दशै मनाउनुपर्छ है भन्दै विदा लिएको थियो साहिलो छोरोले, तर अब यसरी दशै मनाउन नजुर्ने भयो,’ गहभरी आँसु पार्दै ८५ वर्षीया सावित्रा दाहाल सुक–सुकाउँदै थिइन्।
बिहीबार अपरान्ह विराटनगर ३ स्थित सुनौलो विहानी टोलमा रहेको घर बृद्धा दाहाल आफ्नो छोरोको विलौना गरिरहेकी थिइन्। दाहालको साहिलो छोरा युवराज दाहाल हुन्। बुधबार दिउँसो युवराज दाहालको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
चार दाजुभाइ मध्ये साहिला युवराज कर्तव्यनिष्ट कर्मचारीको दर्जामा रहेका थिए।गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेसंग युवराजलाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सुम्पिएका थिए।
प्रधानमन्त्री ओलीका नजिक र कार्यशैलीमा निपूर्ण युवराजको निधनको खबर आमाले घटना भएको करिब २ घण्टापछि मात्र थाहा पाएकी थिइन्। कृषि विकास बैंकमा अधिकृतस्तरमा कार्यरत जेठो छोरा देवराजले जानकारी गराएपछि मात्र सावित्राले घटनाबारे थाहा पाएकी थिइन्।’आमालाई एक्कासी भन्दा गाह्रो हुनसक्ने भएकाले विस्तारै सबै भएर भनेका थियौं,’ ६६ वर्षीया जेठी दिदी धनकुमारी दाहालले बताइन्।
गएको एकमहिना अघि भक्तपुरस्थित घरमा पुग्दासमेत भेट हुननसकेको बताएकी धनकुमारीले भनिन्, “फोनमा गफ हुनु एककुरा तर, भाइसंग करिब डेढमहिना अघि भएको भेटनै अन्तिम भयो। भक्तपुर पुग्दा झापा दमक पुगेको रहेछ।’
प्रधानमन्त्री कार्यालयमा रहेकाले बाहिर काममा गइरहनु नौलो कुरा नभएको बताएकी धनकुमारीले विहीबारको दुर्घटनाको खबर भने फोनबाट थाहा पाएकी थिइन्। “सपरिवार झापा जानेक्रममा थियौं सोही समय जेठो भाइ देवराजले तुरुन्त विराटनगर फर्कनु भनेर बोलायो, केही थाहा थिएन। यहा आएपछि घटनाबारे थाहा पायौं,’ उनले भनिन्।
आमा सावित्राले छोरा सम्झदै भनिन्, ‘भेटका लागि आउदाँ कहिल्यै खाली हात आएन। बुढेसकाल लाग्यो छोरीछोरी भेटमा आउदाँ आशा लाग्दो रहेछ।तर मलाई कहिल्यै निराश बनाएन उसले।’ ‘सधै आउदाँ धेरै गफ हुदाँ म आमालाई हेर्छु भन्थ्यो,” बोली लरबराउदै सावित्राले भनिन्।
‘आफू सुगरको विरामी आउदाँ लत्ताकपडा, सुगर फ्रि विस्कुट र सधै मुस्कुराइ रहने वातावरण बनाउदै आउथ्यो” उनले छोरा सम्झिदै भनिन्। गएको दशैमा सबैजनाले विराटनगरमा रमाइलो गरेका थियौं छोराबुहारी सबै, तर अब एकसदस्यको कमी रहिरहने भयो, घरमा आएका इष्टमित्रसंग सावित्राले गुनासो गर्दै गइन्। घरमा पनि यूवराजको धेरै कुरा जेठी भाउजु सुशीलासँग हुने गर्थ्यो, आमाले बताइन्।
त्यसैलेपनि घटना भएलगत्तै सबै दाजुभाइ, भाउजु काठमाडौं पुगिसकेकाछन्। तरपनि आमाको मन भने, छोराको कामकाज भने विराटनगरमै गर्न पाए हुन्थ्यो भन्ने रहेछ। मलिन स्वरमा सावित्राले भने, “छोरोलाई अन्तिमपटक देखेको करिब पाँच महिना भइसकेको छ। अन्तिमसमय यतै काम गर्न पाए हुन्थ्यो। खै अब छोराहरुले के गर्छन्।”
२०२८ साल माघमा दमकमा जन्मिएका युवराज पढ्नमा पनि उत्तिकै तेज भएको दिदी धनकुमारी बताउछिन्। सानै छदाँ झापाको इटाभट्टा स्कुल र गुवाबारी स्कुलमा अध्ययन गरेका युवराजले उच्च शिक्षा भने धनकुटास्थित धनकुटा बहुमुखी कलेजबाट पुरा गरेको धनकुमारी खतिवडाले बताइन्। सानै थियो पढ्नमा तेज पढ्दै गर्दा सरकारी जागिरमा प्रवेश गरेको थियो दिदी धनकुमारीले सम्झिन्।
दमकमा जन्मिएका दाहालले २०६३/६४ सालमा गौरीगञ्ज निवासी बन्दना पौडेलसंग मागी विवाह गरे। हल उनको कक्षा ६ मा अध्ययनरत नवल दाहाल छोरा र एक सानी छोरी नुरिया मोन्टेश्वरीमा छिन्।
विद्यार्थीकालमा राजनीति भन्दापछि कानुन विषय औधि मनपर्थ्यो उनले बताइन्। यसक्रममा युवराजले हुलाकदेखि नगरपालिकासम्मको जिम्मेवारी वहन गरेका थिए।
जागिरका क्रममा इलाम नगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गरेसंगै दमकमा पछिल्लोसमय कार्यरत थिए। सोही क्रममा प्रधानमन्त्री ओलीको नजरमा दाहाल परेका थिए। यसअघि युवराजका पिता जयनारायण दाहालको ८ वर्षअघि निधन भएको थियो।