
धनगढी– दलित समुदायलाई मन्दिरमा पूजा गर्नबाट रोक लगाएको भन्दै मन्दिरकी पूजारी (माता) गंगा गिरी पक्राउ परेकी छन् ।
सोमबार शिवरात्रीको अवसर पारि धनगढी उपमहानगरपालिका ५ जाँई स्थित गायत्री मन्दिरमा जातीय विभेद गरी दलितलाई पूजा गर्न रोक लगाएको गुनासो पछि प्रहरीले मातालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाका अनुसार स्थानीय कौशील्या ताम्राकारले मन्दिरकी पुजारी माताले छुवाछुत गरेको गुनासो गरेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी मातालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख तिमिल्सेनाले बताए ।