
बेलायतमा एचआइभी संक्रमण भएका एक व्यक्तिमा स्टिम सेल ट्रान्सप्लान्टपछि एचआइभी नदेखिएको अनुसन्धानकर्ताले बताएका छन्। यस्तो भएको यो इतिहासको दोस्रो घटना हो ।
नेचर जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार स्टिम सेल ट्रान्सप्लान्टपछि ती व्यक्तिमा एचआइभीको संक्रमण नदेखिएको र उनले एचआइभीको औषधि पनि लिएका छैनन्।
तर ती व्यक्तिमा रहेको एचआइभी संक्रमणको उपचार पूर्ण रुपमा भएको वा ती व्यक्ति एचआइभी मुक्त भएको भन्न तत्काल नसकिने अनुसन्धानकर्ताले बताएका छन् ।
स्टिम सेल ट्रान्सप्लान्ट गरिएका व्यक्तिलाई क्यान्सरको संक्रमण पनि थियो । एचआइभीको संक्रमण भएको तर अरु रोग नरहेको व्यक्तिमा स्टिम सेल ट्रान्सप्लान्ट विधि प्रयोग गर्न नहुने विज्ञले बताएका छन् । तर यसले भविष्यमा एचआइभीको उपचारको विधि थाहा पाउन सहयोग गर्ने बताएका छन् ।
सन् २००३ मा एचआइभी संक्रमण भएको थाहा भएका ती व्यक्तिलाई सन् २०१२ मा क्यान्सर भएको थियो । उनलाई क्यान्सरको उपचारसँगै एचआइभीको विस्तार कम गर्नका लागि डोनरमार्फत स्टिम सेल ट्रान्सप्लान्ट गरियो । यसले क्यान्सर र एचआइभी दुवै हराएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
युनिभर्सिटी कलेज लण्डन, इमपेरिएल कलेज लण्डन, क्याम्ब्रिज युनिभर्सिटी र अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता यो अनुसन्धानमा संलग्न छन् ।
१० वर्षअघि बर्लिनका एक एचआइभी संक्रमितलाई एचआइभी भाइरसको संक्रमण रोक्नका लागि बोनम्यारो ट्रान्सप्लान्ट गरिएको थियो ।